असद प्रति दृष्टिकोण बदलियो: ट्रम्प

  • 6 एप्रिल 2017
सिरियामा संदिग्ध रासायनिक हमला तस्वीर कपीराइट EPA

उत्तरी सिरियाको विद्रोही नियन्त्रित इलाकामा भएको हवाइ हमलामा सयौं मानिसमाथि रासायनिक ग्यास प्रयोगको घटनाले सिरियाली राष्ट्रपति बशर अल असदप्रति आफ्नो दृष्टिकोण परिवर्तन भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्।

उनले उक्त कार्य मानवताप्रतिकै अपमान भन्दै निर्दोष बालबालिकालाई मारेर असद सत्ताले थुप्रै लक्ष्मण रेखा नाघेको बताएका छन्।

नीति बदलिने?

यसअघि अमेरिकी प्रशासनले असद सरकार अपदस्थ गर्नु आफ्नो प्राथमिकता नरहेको बताउँदै आएको थियो।

तर सो घटनापछि ट्रम्प प्रशासनका वरिष्ठ अधिकारिहरुले सिरियाली सरकारका विरुद्ध कडा टिप्पणी गरेका छन्।

राष्ट्रपति ट्रम्प स्वयंले सो घटनाको चर्को निन्दा गरे।

उनले सिरियाको साझेदार रुसको भने नाम लिएनन्।

तस्वीर कपीराइट Getty Images
Image caption प्रत्यक्षदर्शीका अनुसार घाइतेको उपचार भइरहेको क्लिनिकमा पनि हवाइ हमला भएका थिए

तर उनका विदेश मन्त्री रेक्स टिलरसनले घटनाका पछाडि सिरियाली सरकारको हात रहेकोमा शंका नभएको भन्दै रुसलाई असद सरकारप्रति समर्थन जारी राख्ने नीतिबारे गम्भीर समिक्षा गर्न आग्रह गरे।

उपराष्ट्रपति माइक पेन्सले अमेरिकाका सामु सबै विकल्पहरु खुला रहेको बताए।

आरोप

राष्ट्रसंघका निम्ति अमेरिकी दूत निक्की ह्यालेले रुसले घटनाको ढाकछोप गर्न खोजेको आरोप लगाइन्।

उनले भनिन्, "यदी रुससंग उसले दावी गरेजस्तै सिरियामाथि कुनै प्रभाव छ भने हामी त्यसको प्रयोग भएको हेर्न चाहन्छौं। यी त्रासदीपूर्ण कार्य अन्त्य गराएको हामी हेर्न चाहन्छौं। रुसले यति गर्न अझै कति बालबालिका मारिनुपर्ने हो?"

उनले यदी राष्ट्रसंघले सिरियाको अवस्थाबारे कुनै सामूहिक कारवाही नगरे आफ्नो देशले आफ्नै तवरले कदम चाल्ने बताइन्।

लन्डनस्थित निगरानी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मंगलबार इडलिब प्रान्त को खान शिखुन क्षेत्रमा भएको रासायनिक घटनामा २० बालबालिका तथा ५२ वयस्क मानिस मारिएका थिए।

सो घटनाका तस्वीरहरुमा बालबालिका सहित गैरसैनिकहरु सास फेर्न संघर्षरत रहेको तथा उनीहरुको मुखमा फिंज आएको देखिएका थिए।