मुसलमानहरुको जातीय संहार भएको छैन: सू ची

  • 6 एप्रिल 2017
सू ची तस्वीर कपीराइट Reuters

म्यानमारकी नेतृ आङ् सान सू चीले रोहिन्जिया मुसलमान अल्पसंख्यकको जातीय संहार भइरहेको भन्ने विवरण अस्वीकार गरेकी छन्।

उनीहरुविरुद्ध ज्यादती भएका भन्ने खालका विवरणहरु सार्वजनिक भइरहेपनि सू चीले बीबीसीसँगको विशेष अन्तर्वार्तामा उक्त विषय अस्वीकार गरेकी हुन्।

नोबेल पुरस्कार विजेता सू चीले रखाइन राज्यमा समस्या रहेको स्वीकार भने गरिन्।

उक्त राज्यमा अधिकांश रोहिन्जियाहरु बस्छन्।

'कडा शब्दावली'

सू चीले बरु उल्टै आफ्नो देश रोहिन्जियाहरुलाई खुला हृदयले स्वागत गर्न तयार रहेको बताइन्।

बीबीसीका विशेष संवाददाता फर्गल किनसँग उनले भनिन्, "मलाई लाग्दै कि जातीय संहार भइरहेको छ। त्यहाँ जे भइरहेको छ त्यो जनाउन जातीय संहार कडा शब्दावली हो"।

बर्मा समेत भनिने म्यानमारमा रोहिन्जियाहरुलाई नागरिकता दिइएको छैन।

म्यानमारमा उनीहरुलाई बांग्लादेशबाट आएका अवैध आप्रवासीहरुका रुपमा हेरिन्छ।

उनीहरुले अधिकारीहरु तथा अन्य समुदायबाट नियमित भेदभाव झेल्नुपरिरहेको छ।

छानविन

सन् २०१२ मा भड्किएको जातीय दंगापछि दशौं हजार रोहिन्जियाहरु विस्थापित भएर शिविरहरुमा बसिरहेका छन्।

पछिल्ला केही महिना रखाइन राज्यमा भएको सैनिक कारबाहीबाट जोगिन करिब ७० हजार जना बांग्लादेश भागेका छन्।

गत महिना संयुक्त राष्ट्रसंघले कारबाहीका क्रममा सेनाले रोहिन्जिया मुसलमानलाई लक्षित गरेको आरोपहरुमाथि छानविन गर्ने घोषणा गरेको थियो।

तर सरकारले ती आरोपहरुको खण्डन गर्दै आएको छ।