सिरियामा रसायन आक्रमण गरिएको 'पुष्टि'

  • 6 एप्रिल 2017
घाईते तस्वीर कपीराइट AFP

मंगलबार उत्तरी सिरियामा गरिएको आक्रमणमा ज्यान गुमाएका मानिसको शवको परीक्षणबाट त्यहाँ रासायनिक हतियार प्रयोग गरिएको पुष्टि भएको टर्कीले बताएको छ।

संयुक्त राष्ट्रसंघले त्यहाँ घेराबन्दी भित्र रहेका दसौं लाख मानिसलाई सहायता सामग्री लैजान दिनका लागि तीन दिन युद्धविराम गर्नुपर्ने आह्वान गरेको छ।

विश्व स्वास्थ्य संगठन र रासायनिक हतियार विरुद्धको संगठनसंग मिलेर टर्कीले मंगलबारको आक्रमणमा मारिएका मानिसको शवमाथि परीक्षणहरु गरेको छ।

परीक्षणको निष्कर्श टर्कीका कानुनमन्त्री बेकिर बोज्दागले सार्वजनिक गरेका छन्।

पुष्टि

आक्रमणमा रसायन प्रयोग गरिएका र रसायनकै कारण ती मानिसको मृत्यु भएको उनले बताएका छन्।

उनीहरुले कुन रसायन प्रयोग गरेका थिए त्यो बोज्दागले बताएनन् तर राष्ट्रपति बशर अल असदका फौज त्यसका लागि जिम्मेवार भएको उनले बताए।

विद्रोहीको हतियार भण्डारमा हवाई हमलाले गल्तीले लाग्दा रसायन फैलिएको सिरिया र रुसले बताएका थिए।

त्यो भनाईलाई खण्डन गर्ने किसिमको कुनै जानकारी यो टर्कीका न्यायमन्त्रीले दिएनन्।

आह्वान

जिनीभामा बोल्दै संयुक्त राष्ट्रसंघका मानवअधिकार सम्बन्धी सल्लाहकार यान एगेलण्डले सात वर्ष देखि जारी सिरियाको द्वन्द्व झन् खराब बन्दै गइरहेको बताएका छन्।

द्वन्दव्वग्रस्त क्षेत्रमा सहायता सामग्री लैजान दिनका लागि ७२ घण्टा युद्धविराम गर्नुपर्ने उनले आह्वान गरेका छन्।

र सिरियामा अस्पतामाथि नै लक्षित गरेर धेरै आक्रमणहरु भइरहेको भन्दै उनले अस्पतालमाथिको आक्रमण पुर्णतया निषेध गरिनुपर्ने पनि आह्वान गरेका छन्।

हुन त राष्ट्रसंघले यो भन्दा अघि पनि ती सबै कुराको आह्वान गरेको थियो र द्वन्द्वरत पक्षहरुले त्यसको कुनै वास्ता गरेका थिएनन्।

द्वन्द्व

राष्ट्रसंघको मानवीय कार्यसम्बन्धी निकायले शक्तिशाली हतियारधारी पुरुषहरुले महिला र बालबालिकाका लागि लगिएको सहायता सामग्री हडपिरहेको द्वन्द्वको सामना गरिरहेको उनले बताएका छन्।

यस हप्ता देखा परेका सिरियाका सर्वसाधारण माथि ग्यास आक्रमण गरिएका तस्वीरहरुका कारण द्वन्द्वरत पक्षहरुलाई राजनीतिक समाधानका लागि दवाव बढ्नुपर्ने उनको भनाई छ।

हाल सिरियामा ५० लाख मानिस घेराबन्दीभित्र र सशस्त्र समूहको त्रासमा बसिरहेका छन्।