‘प्रधानमन्त्रीपछिको मर्यादाक्रममा थापा रहने’

  • 6 एप्रिल 2017
प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले सरकारमा दोस्रो मर्यादाक्रममा उपप्रधानमन्त्री कमल थापालाई राख्ने गरी सहमति नजिक पुगेको बताएका छन्।

आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको बैठकमा उनले त्यस्तो जानकारी गराएको उक्त दलका एकजना नेताले बताए।

सरकारमा उपप्रधानमन्त्रीको मर्यादाक्रम विवाद सार्वजनिक भएपछि पार्टी बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको धारणा सुनाउँदै माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भने, "दोस्रो वरीयतामा कमल थापा रहने गरेर वरीयताको समस्या समाधान हुने सम्भावना छ भन्ने कुरा राख्नु भयो।"

सल्लाह

प्रचण्डले सरकारमा दोस्रो मर्यादाक्रममा रहने गरी राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराइएको समेत बताएका थिए।

त्यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत सहमति जनाएको जानकारी प्रचण्डले गराएको नेता शमाको भनाई छ।

प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै नेता शर्मा भन्छन्, "तर देउवाजीले विमलेन्द्रजीसँग सल्लाह गर्नु भएको रहेनछ की, विमलेन्द्रजीले म छोड्दिन भने पछि समस्या आएको हो।"

थापा सरकारमा सहभागी हुनुअघि उपप्रधानमन्त्री विमलेन्द्र निधि दोस्रो मर्यादाक्रममा थिए।

राजीनामा

निधिले बिहीबार कांग्रेसको तर्फबाट सरकारमा रहेकाहरुलाई आफ्नो मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।

तस्वीर कपीराइट .

मर्यादाक्रम तलमाथि गरिए आफूले राजीनामा दिने धारणा निधिले सुनाएको छलफलमा सहभागी नाम खुलाउन नचाहने एकजना मन्त्रीले बीबीसीलाई बताए।

तर मन्त्री रमेश लेखकले भने, "मर्यादाक्रममा दोस्रोभन्दा तल राख्ने कुरा उचित होइन, काँग्रेसले दोस्रो वरीयता नै पाउनुपर्छ भन्ने सबैको धारणा रह्यो, यसकाबारेमा जोडदार रुपले कुरा राख्नुपर्छ भन्ने भएको छ।"

कांग्रेसका मन्त्रीहरुको नयाँ तयारीपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी बैठकमा दिएको जानकारी अनुसार थापालाई नै दोश्रो मर्यादाक्रम दिएर अघि बढ्लान? चासो थपिएको छ।