'सिरियाविरुद्ध सम्भावित सैन्य कारवाही'

  • 7 एप्रिल 2017
सिरिया तस्वीर कपीराइट AFP

संयुक्त राज्य अमेरिकाले सिरियाको विद्रोही नियन्त्रित शहरमा दर्जनौँको ज्यान लिने गरी रासायनिक हतियार प्रयोग गरिएपछि तत्कालै सैनिक कारवाही गर्ने विकल्पबारे विचार गरिरहेको बताएको छ।

सिरियाली विमानहरुलाई जमिनमा नै रोक्ने र अमेरिकी नौ सेनाको पानी जहाजबाट क्रुज क्षेप्यास्त्र प्रहार गरी सिरियाली रेडार प्रणालीलाई निशाना बनाउने सहितका विकल्पमा छलफल भइरहेको विवरणहरुमा जनाइएको छ।

केही अधिकारीहरुले तत्कालै प्रतिक्रिया दिनुपर्ने बताएका छन् भने अन्यले रुसको सम्भावित प्रतिक्रिया प्रति सावधान हुनुपर्ने धारणा राखेका छन्।

यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भावी दिनमा सिरियाली शासनसत्तामा नेता बसर अल असदको कुनै भूमिका नहुने बताएका थिए।

चेतावनी

एक साता पहिले राष्ट्रपति ट्रम्पले असदलाई पदबाट हटाउने मुद्दा सिरिया सम्बन्धी अमेरिकी नीतिको प्राथमिकता नभएको बताएका थिए।

तर अमेरिकी नीति बदलिएको संकेत गर्दै विदेशमन्त्री टिलरसनले असदलाई पदबाट हटाउने राजनीतिक प्रकियाको पक्षमा अमेरिका रहेको बताए।

उनले भने, "भावी दिनमा असदको भूमिका अनिश्चित देखिएको छ र उनले चालेका कदमहरुका कारण सिरियाली जनतालाई शासन गर्ने भूमिकामा उनी हुनु हुँदैन भन्ने देखिन्छ।"

राष्ट्रपति ट्रम्पले सिरियामा गरिएको रासायनिक हमला मानव जातिकै लागि लाजमर्दो भएको बताएका थिए।

बीबीसीका उत्तर अमेरिकी सम्पादक भन्छन् राष्ट्रपति ट्रम्पले विकल्पहरुबारे छलफल गरिरहेका छन् र उनी सैन्य कारबाहीको पक्षमा उभिनसक्ने देखिन्छ।

अस्वीकार

यसैबिच संयुक्त राष्ट्रसंघले सम्भावित ग्यास हमालामा सिरियामा मारिएका दर्जनौँ मानिसहरु मध्ये कम्तीमा २७ जना बालबालिका रहेको पुष्टि भएको बताएको छ।

तस्वीर कपीराइट Reuters

अमेरिका र उसका पश्चिमा साझेदारहरुले सिरियाली सेनाले रासायनिक हतियार प्रयोग गरी उक्त हवाई हमला गराएको बताएका छन्।

तर दमास्कसस्थित सिरियाली सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ।

उसले विद्रोहीहरुले रसायनिक भण्डारण गरिरहेको क्षेत्रमा क्षेप्यास्त्र खस्दा घातक ग्यासहरु फैलिएको बताएको छ।

रासायनिक हतियारको प्रयोगमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा उभिएको एउटा अन्तराष्ट्रिय निगरानी समूहले उक्त आक्रमणका बारेमा छानबीन शुरु गरेको बताएको छ।