आरोहीहरुलाई मौसमबारे जानकारी

  • 7 एप्रिल 2017
हिमाल

विगतमा मौसमबारे पूर्वसूचना समयमै प्रवाह गर्न नसक्दा कतिपय पर्वतारोहीले ज्यान गुमाउनुपरेको भन्दै मौसम पूर्वानुमानको सूचना उपलब्ध गराउने कार्यको थालनी गरिएको अधिकारीहरुले जनाएका छन्।

सगरमाथा सहित अन्य हिमालका आरोहीहरुलाई लक्षितगर्दै हुनसक्ने कतिपय दुर्घटना न्यूनीकरणका लागि यस वर्षदेखि नियमित रुपमा सूचना प्रवाह गरिने उनीहरुले बताएका छन्।

केहि महिनाको सफल परिक्षण पश्चात् त्यस्तो सूचना संयन्त्रको विकास गरिएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको भनाइ छ।

गत चैत्र २ गतेदेखि शुरुवात गरिएको उक्त प्रकृयालाई आगामी जेठ १५ गतेसम्म निरन्तरता दिईने लक्ष्य रहेको बताइएको छ।

पूर्वानुमान

पर्वतारोहणका लागि खुल्ला गरिएका ११ वटा हिमालमध्ये हाल मुख्यगरी सगरमाथा, अन्नपूर्ण र धौलागिरि क्षेत्रको मौसम पूर्वानुमानको सूचना उपलब्ध गराइने जनाइएको छ।

पर्यटन विभागले पर्वतारोहणकालागि अनुमति दिए लगत्तै मोबाइल एप र गुगलबाट मौसम पूर्वानुमानको सूचना लिने पद्धतीबारे आरोहीलाई जानकारी दिने गरिएको बताएको छ।

विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले भने, "पर्वतारोही दलको टोली नेता वा सरदार अथवा सम्पर्क अधिकृतले आफ्नो जीमेल एकाउण्टमार्फत यहाँबाट त्यो जीमेल ठेगानामा ट्रयाक हुनेगरि सेटिङ्ग गरेर एप डाउनलोड गर्नुपर्छ। त्यसो गरेमा आरोहणका बेला मोबाइल स्क्रिनमा आफसेआफ त्यो देखापर्ने व्यवस्था गरिएको छ।"

हाल पाँच, पाँच दिनको मौसम पूर्वानुमानको सूचना दिंदै आइएकोमा पर्वतारोहणको मुख्य याममा प्रत्येक घण्टा सूचना दिइने नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले जनाएको छ।

आरोहण

त्यस्तो पूर्वानुमानले आधार शिविरमाथिका आरोहीदललाई उनीहरुको आरोहणलाई निरन्तरता दिने वा नदिनेबारेमा निर्णय लिन समेत सहज बनाउने प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक उत्तमबाबु भट्टराईले वताए।

उनले भने, "आधार शिविरबाट माथि रहेका आरोहीलाई रेडियो सेटमार्फत मौसम पूर्वानुमानको सूचनाबारे जानकारी गराइन्छ। मौसमबारे त्यस्तो भविष्यवाणीले आरोहीलाई माथि जाने वा तल झर्नेबारे सही निर्णय लिई सुरक्षित हुन मद्दत पुर्याउँछ।"

सन् २०१४ को हिमपहिरो र सन् २०१५ मा गएको भूकम्पका कारण असुरक्षा महशुश गर्दै आरोहण गर्नेहरुको संख्या घटेको भएपनि हाल त्यसमा सुधार आएको विभागले जनाएको छ।

सगरमाथा क्षेत्रमा सन् २०१४ मा १६ आरोहीको ज्यान गएको थियो भने सन् २०१५ मा १८ जनाको ज्यान गएको थियो।

आशंका

तर कतिपय पर्वतारोहण व्यवसायीले भने त्यस्तो कदम सकारात्मक रहेपनि मौसम भविष्यवाणी विश्वसनीय हुनेमा आशंका व्यक्त गरेका छन्।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ् छिरिङ्ग शेर्पा भन्छन्, "नेपाली निकायहरुले मौसमबारे दिने त्यस्तो सूचना निशुल्क दिएको त हुन्छ तर त्यसको विश्वसनीयता बारे अझै केहि शंका छ। विदेशबाट खरिद गरिने मौसमसम्बन्धी रिपोर्ट झण्डै ७५ प्रतिशत सत्य सावित हुन्छन्"

हिमाली क्षेत्रसम्बद्ध मौसमविज्ञको सहयोगमा संकलन गरिने मौसमबारे पूर्वानुमानको सूचना पर्वतारोही व्यवसायीहरुले यसअघि विदेशबाट किन्दै आएको बताइन्छ।