थप आक्रमण गर्ने अमेरिकी चेतावनी

  • 8 एप्रिल 2017
अमेरिका तस्वीर कपीराइट AFP

संयुक्त राज्य अमेरिकाले रासायनिक अस्त्र प्रयोग गरेकोमा सिरियाविरुद्ध थप सैन्य कारबाही गर्न सक्ने जनाएको छ।

राष्ट्रसंघीय सुरक्षा परिषदको एउटा आपतकालीन बैठकमा अमेरिकी राजदूत निक्की हेलीले भनिन्, 'रासायनिक अस्त्रको प्रयोग र विस्तार रोक्नु अमेरिकाको एउटा प्रमुख राष्ट्रिय स्वार्थ हो।'

अमेरिकी वित्तीय मन्त्री स्टिभ मनुसिनले सिरियामाथि थप आर्थिक प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको बताएका छन्।

तर राष्ट्रसंघका लागि रुसी राजदूत भ्लादिमिर स्फरोनकोफले अमेरिकी क्षेप्यास्त्र हमला अन्तर्राष्ट्रिय कानून विपरीत भएको र त्यसले उक्त क्षेत्रमा गम्भीर परिणाम ल्याउनसक्ने चेतावनी दिएका छन्।

चेतावनी

राष्ट्रसंघका लागि अमेरीकी दूत निक्की हेलीले भनेकी छन्, रासायनिक अस्त्रको प्रयोगलाई उनको देशलाई कुनै हालतमा स्विकार्न सक्दैन र त्यसलाई रोक्नु अमेरिकाको मुख्य स्वार्थ हो।

उनले सिरियाली राष्ट्रपति बसर अल असदलाई पुन: कहिल्यै रासायनिक अस्त्रको प्रयोग गर्न नसक्ने बनाउने उद्देश्य अमेरिकी हमलाले राखेको उल्लेख गरिन्।

तस्वीर कपीराइट AP

हेलीले इरान र रुसले सिरियाली सरकारले आपराधिक गतिविधि गर्दा पनि उसलाई साथ दिएको भन्दै असन्तुष्टि जनाइन्।

तर सिरियाको साझेदार रहेको रुसले एकपक्षीय रुपमा गरिएको अमेरिकी आक्रमणले आतंकवादीहरुलाई बलियो बनाउने प्रतिक्रिया दिएको छ।

मस्कोले सिरियाको हवाई आक्रमण प्रतिरोध गर्न सक्ने क्षमता बलियो बनाउन सघाउने पनि प्रतिबद्धता जनाएको छ।

मूठभेड

यसबाहेक अमेरिकी हवाई सेनासँग सिरियामा सम्भावित मुठभेड रोक्ने उद्देश्यका साथ स्थापना गरिएको हटलाइन पनि बन्द गर्ने रुसले बताएको छ।

शुक्रबार बिहानै गरिएको अमेरिकी क्षेप्यास्त्र आक्रमणमा सिरियामा कम्तीमा ६ जना मारिएका थिए।

अमेरिकी अधिकारीहरुले आफ्ना टोमाहक क्षेप्यास्त्रहरुले मंगलबार दर्जनौंको ज्यान जाने गरी रासायनिक अस्त्र प्रयोग गरी हमला गर्न प्रयोग गरिएको हवाई अखडालाई निशाना बनाएको जनाएका छन्।

इड्लिब प्रान्तमा भएको घटनामा ३३ बालबालिका सहित ८९ जना मारिएको बताइन्छ।

तर सिरियाले आफूले रासायनिक अस्त्र प्रयोग नगरेको बताउँदै आएको छ।