स्टकहोममा पक्राउ परेका व्यक्ति 'आक्रमणकारी'

  • 8 एप्रिल 2017
आक्रमण तस्वीर कपीराइट AFP

स्विडेनको प्रहरीले राजधानी स्टकहोममा शुक्रबार गराइएको लरी आक्रमणको घटनापछि पक्राउ गरिएका व्यक्ति नै हमलाकारी भएको विश्वास बढ्दै गएको जनाएको छ।

यद्यपि अरु मानिसको सम्भावति संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

एउटा पत्रकार सम्मेलनमा प्रहरीले पक्राउ गरिएका ३९ वर्षीय पुरुष उज्बेकिस्तानको भएको बताएको छ।

अधिकारीहरुले आक्रमणमा प्रयोग गरिएको लरीमा संदिग्ध उपकरण भेटिएको बताएपनि त्यो बम भएको रिपोर्टको पुष्टि गरेका छैनन्।

अवलोकन

चोरी गरिएको एउटा लरी मध्य स्टकहोममा मान्छेहरुको भीडमा र एउटा पसलमा ठोक्काइँदा कम्तीमा चारजनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए।

घटनालाई आतंकवादी हमलाको संज्ञा दिएका प्रधानमन्त्री स्टेफन लफ्भेनले घटनास्थलको अवलोकन गरेका छन्।

उनले खुला लोकतान्त्रिक समाजप्रतिको स्विडेनको प्रतिबद्धता दोहोर्याए।

आक्रमणबारे अहिल्यै कुनै राजनीतिक निष्कर्ष निकाल्नु हतार हुने भन्दै लफ्भेनले अहिलेको समय समवेदना व्यक्त गर्ने भएको बताए।

संदिग्ध

यसअघि संदिग्ध आतंकवादी भएको आशंकामा ती व्यक्तिलाई शहरको उत्तरी क्षेत्रबाट गिरफ्तार गरिएको थियो।

आक्रमणमा संलग्न भएको आशंकामा अर्का व्यक्ति पनि पक्राउ परेको विवरणलाई पनि प्रहरीले पुष्टि गरिसकेको छैन।

आक्रमणपछि प्रधानमन्त्रीको आदेशमा नाकाहरुमा सुरक्षा कडा पारिएको छ।

शुक्रबार राति सम्बोधन गर्दै प्रधानमन्त्री लफ्भेनले स्विडेनको प्रजातन्त्र र स्वतन्त्रताको मान्यतालाई "घृणाले जित्न नसक्ने" बताए।