अमेरिकाद्वारा युद्धपोतको समूह तैनाथ

  • 9 एप्रिल 2017
तैनाथ तस्वीर कपीराइट Reuters

उत्तर कोरियाको क्षेप्यास्त्र र पारमाणविक अस्त्रसम्बन्धी कार्यक्रमलाई लिएर चिन्ता बढिरहेका बेला अमेरिकी जलसेनाले कोरियाली प्रायद्वीप नजिकै युद्धपोतको एउटा समूह तैनाथ गर्न आदेश दिएको छ।

रक्षा अधिकारीहरुका अनुसार उत्तर कोरियाको हालैको 'उत्तेजनात्मक गतिविधि'को जवाफमा एउटा विमानवाहक र तीनवटा निर्देशित क्षेप्यास्त्र विध्वंसकसहितको 'कार्ल भिजन स्ट्राइक ग्रुप' परिचालन गरिएको छ।

यसअघि प्योङयाङले बुधबार मध्यम दूरीको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।

सो परीक्षणपछि अमेरिकी राष्ट्रपतिले आफ्ना चिनियाँ समकक्षीलाई उत्तर कोरियाली परमाणविक कार्यक्रम नियन्त्रण गर्नेतर्फ थप काम गर्न आग्रह गरेका थिए।

खतरा

अमेरिकी प्यासिफिक कमाण्डका एकजना प्रवक्ताले सो क्षेत्रका लागि उत्तर कोरिया पहिलो नम्बरको खतरा भएको टिप्पणी गरेका छन्।

केही दिनअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको पारमाणविक खतरासँग एक्लै जुध्न अमेरिका तयार रहेको बताएका थिए।

अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासका कारण आफू सक्रिय हुनुपरेको उत्तर कोरियाले बताएको छ।

दुई मुलुकबीचको सैन्य अभ्यासलाई उसले अतिक्रमण गर्ने तयारीको संज्ञा दिंदै आएको छ।

सिरियाप्रति ट्रम्पले अवलम्बन गरिरहेको नीतिलाई पनि उत्तर कोरिया नजिकबाट नियालिरहेको बताइन्छ।

सिरियाली फौजले गरेको रासायनिक आक्रमणको जवाफमा अमेरिकाले हालै त्यहाँ गरेको हमलालाई उत्तर कोरियाले "एउटा सार्वभौम मुलुकमाथिको आक्रमण"को संज्ञा दिएको थियो।