चर्चमा विस्फोटः ३० जनाभन्दा बढीको मृत्यु

  • 9 एप्रिल 2017
चर्च तस्वीर कपीराइट Reuters
Image caption गत डिसेम्बरमा राजधानी कायरोस्थित एउटा चर्चमा विस्फोट गराइंदा २५ जनाको ज्यान गएको थियो।

इजिप्टमा कप्टिक चर्चहरुमा गराइएका दुईवटा विस्फोटमा ३० जनाभन्दा बढी मानिस मारिएको अधिकारीहरुले बताएका छन्।

एलेक्जेन्ड्रियास्थित सेन्ट मार्क्स कथिड्रलको अगाडि आत्मघाती हमलाकारीले विस्फोट गराउँदा ११ जनाको ज्यान गएको थियो।

'पाम सन्डे' मनाउन श्रद्धालुहरु जम्मा भएका बेला सो चर्चमा विस्फोट भएको थियो।

जेरुसलेममा जिसस क्राइस्ट प्रवेश गरेको सम्झनामा ईसाई धर्मावलम्बीले 'पाम सन्डे' मनाउने गर्दछन्।

उपस्थित

विस्फोटका बेला कप्टिक चर्चका प्रमुख पोप टवाड्रोस द्वितीय पनि सेन्ट मार्क्स चर्चमा उपस्थित थिए।

तर उनलाई चोटपटक नलागेको समाचारमा जनाइएको छ।

त्यसअघि राजधानी कायरोदेखि उत्तरमा पर्ने टेन्टा शहरस्थित सेन्ट जर्ज चर्चमा विस्फोट हुँदा कम्तीमा २५ जनाको ज्यान गएको थियो भने ७० जनाभन्दा बढी घाइते भएका थिए।

विस्फोटको हालसम्म कुनै समूहले जिम्मेवारी दावी गरेको छैन।

भर्त्सना

यद्यपि इजिप्टस्थित कथाकथित इस्लामिक स्टेटले कप्टिक ईसाईहरुमाथि आक्रमण धम्कीयुक्त एउटा भिडियो हालै अनलाइनमा राखेको थियो।

इजिप्टमा कप्टिक ईसाईहरुको संख्या कुल जनसंख्याको झण्डै १० प्रतिशत छ।

यसै महिनाको अन्त्यतिर इजिप्टको भ्रमण गर्न लागेका ईसाई धर्मावलम्बीका सर्वोच्च गुरु पोप फ्रान्सिसले घटनाको भर्त्सना गरेका छन्।

टेन्टामा भएको पहिलो विस्फोटपछि सरकारी टेलिभिजनसँग कुरा गर्दै प्रान्तीय गभर्नर अहमद दैफले भने, "बम विस्फोट गराइएको वा कसैले आत्मघाती विस्फोट गराएको हुन सक्छ।"

इजिप्टको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता जनरल तारिक आतियाले टेन्टामा अति पवित्रस्थल नजिकै विस्फोट भएको समाचार संस्था एएफपीलाई बताए।

उद्देश्य

छिमेकमा विस्फोटक पदार्थ हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको अधिकारीहरुले बताएका छन्।

'पाम सन्डे' मनाउन भेला भएकाहरुलाई लक्षित गरी विस्फोट गराइएकोले आक्रमणको उद्देश्य धेरै हताहती गराउने हुन सक्ने देखिन्छ।

इजिप्टमा सन् २०१३ मा तत्कालीन राष्ट्रपतिलाई पदच्यूत गरी सेनाले सत्ता हत्याउँदै इस्लामवादीमाथि कारबाही थालेपछि कप्टिक ईसाई लक्षित आक्रमणहरु बढ्दै गएका छन्।

तत्कालीन राष्ट्रपति एवम् मुस्लिम ब्रदरहूड नेता मोहम्मद मोर्सीका कतिपय समर्थकले उनलाई हटाउन सेनालाई ईसाईहरुले समर्थन गरेको आरोप लगाउने गरेका छन्।

गत डिसेम्बरमा कायरोस्थित एउटा कप्टिक कथिड्रलमा विस्फोट हुँदा २५ जना मारिएका थिए।