स्टकहोममा मारिएका मानिसको सम्झना

  • 9 एप्रिल 2017
स्मृति कार्यक्रम तस्वीर कपीराइट AFP

स्विडेनमा गत शुक्रबार भएको लरी आक्रमणका मृतकको सम्झनामा हजारौं मानिस स्टकहोमको मध्यमा भएको स्मृतिसभामा उपस्थित भएका छन्।

लरी ठोक्काइएको डिपार्टमेण्ट स्टोरको अगाडिको चोकमा कार्यक्रम गरिएको हो।

'प्रेमको पर्व' भनिएको त्यो आतंकवादविरुद्धको कार्यक्रममा हजारौं मानिस भेला भएर आक्रमणस्थल बाहिर फूलहरु राखेका थिए।

त्यसअघि आक्रमणका संदिग्ध उज्बेक नागरिकलाई देशनिकाला गरिने तयारी भइरहेको स्विडेनका प्रहरीले बताएका थिए।

संदिग्ध

उनले इस्लामिक स्टेट लगायतका उग्रवादी संगठनहरुका लागि समर्थन व्यक्त गरेको अधिकारीहरु बताउँछन्।

उनले गत वर्षको जुन महिनामा स्विडेनमा स्थायी आवासका लागि निवेदन दिएका थिए तर निवेदन अस्वीकृत गरिएको थियो।

उनलाई सन् २०१६ को डिसेम्बर महिनामा ४ हप्ताभित्र देश छोड्न भनिएको प्रहरी प्रमुख जोनास हाइसिङले बताएका छन्।

त्यसपछि उनी बेपत्ता भएका थिए र प्रहरीले उनलाई खोजिरहेका थिए।

अर्का एकजना संदिग्धलाई औपचारिक रुपमा गिरफ्तार गरिएको छ।

प्रहरीले उनीमाथि हत्या लगायतका आतंकवादी क्रियाकलापका विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

त्यो घटनाका सम्बन्धमा प्रहरीले ५०० जनाभन्दा बढी मानिससँग अन्तर्वार्ता गरेको स्विडेनको टीटी समाचार संस्थाले बताएको छ।

आक्रमण

आक्रमणमा चारजना मारिएका थिए र अरु १५ जना घाईते भएका थिए।

एउटा बियर कम्पनीबाट चोरिएको त्यो ट्रक शुक्रबार राजधानीस्थित आह्लेन्स डिपार्टमेण्ट स्टोरमा लगेर जोताइएको थियो।

आक्रमणको कुनै पनि आतंकवादी समूहले जिम्मा लिएको छैन।

पछिल्ला वर्षमा स्विडेनले झण्डै २ लाख शरणार्थी र आप्रवासीलाई शरण दिएको छ जुन उसको जनसंख्याको तुलनामा अरु कुनै युरोपेली देशभन्दा धेरै हो।

तर गत वर्ष स्विडेनले सिमानामा नयाँ किसिमको जाँचबुझ गर्न थालेपछि आप्रवासीको संख्या घटेको थियो।

एउटा छुट्टै आँकडा अनुसार स्विडेनमा उसको जनसंख्याको तुलनामा इस्लामिक स्टेट समूहका लडाकु सबभन्दा धेरै भएको ठानिन्छ।