'चालु अधिवेशन चाँडै टुंग्याउन आवश्यक'

  • 10 एप्रिल 2017
सभामुख घर्ती तस्वीर कपीराइट onsari tweet

संसद्को चालु अधिवेशन छिट्टै अन्त्य गर्नुपर्ने बाध्यता भएकोले स्थानीय तहको निर्वाचनका लागि मार्ग प्रशस्त गर्न आवश्यक संविधान संशोधन लगायतका विधेयक तत्काल दिलाउन सभामुखले सरकारलाई आग्रह गरेकि छन्।

हिउँदे अधिवेशन विगतमा अभ्यास गरिएभन्दा लामो समयदेखि जारी छ र अब छिट्टै बजेट अधिवेशन डाक्नुपर्ने अवस्था छ।

लम्बियो

प्रदेश सीमांकनको विषयलाई थाती राख्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका बाँकी माग सम्बोधन गर्ने गरि संविधान संशोधनको नयाँ विधेयक संसद्‍मा पेश गर्ने सरकारको तयारीका कारण चालु हिउँदे अधिवेशन पहिलाभन्दा लम्बिएको संसद् सचिवालयका अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार संसद्को चालु अधिवेशन कार्तिक-मंसिरतिरै अन्त्य हुनुपर्ने थियो।

आगामी केहि दिनमै बजेट अधिवेशनका लागि वातावरण बन्नेमा आशा व्यक्त गर्दै सभामुख ‌ओनसरी घर्तीले भनिन्, "नेपाल सरकारले पहलकदमी नलिइकन मैले मात्रै गरेर सम्भव हुंदैन। त्यसैले यो समस्या बन्न पुगेको छ।"

सरकारले स्थानीय चुनावको घोषणा गरे लगत्तै निर्वाचन आयोगलाई त्यससम्बन्धी आवश्यक कानुनहरु उपलब्ध गराउनुपर्ने थियो।

त्यसबाहेक स्थानीय तह क्षेत्र निर्धारणसम्बन्धी विधेयकका कारण पनि चालु अधिवेशनको धेरै समय खर्चिइएको संसद् सचिवालयका प्रवक्ता भरत गौतमले बताए।

पछिल्लो समय संसद् कार्यसूचीविहीन जस्तो देखिएको बताउँदै उनले भने, "पाँच वा छ महिना भन्दा बढी यो अधिवेशन चल्ने होइन। तर अहिलेको संविधान संशोधन विधेयककै कारणले लम्बिएको हो।"

प्राथमिकता

सरकारले निर्वाचन अहिलेको प्रमुख प्राथमिकता भएको बताउँदै आएको छ।

त्यसका लागि प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक भएकाले चालु अधिवेशन लम्बिएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की बताउँछन्।

संविधान संशोधनसम्बन्धी नयाँ विधेयकको टुंगो लगाइए लगत्तै बजेट अधिवेशनका लागि बाटो खुल्ने उनले बताए।

"मूलधारका दलबीच सहमति जरुरी छ। त्यसका निम्ति भगिरथ प्रयत्नहरु भैरहेका छन्। हामी करिबकरिब निष्कर्षमा पुर्याउने स्थितिमा छौं। त्यसपछि स्वाभाविक रुपमा हामी संसदलाई विजनेस दिन सक्छौं।"

तर मधेशी मोर्चा पूर्णरुपमै सन्तुष्ट हुने गरी विधेयक तयार हुन समय लाग्न सक्ने भएकाले बजेट अधिवेशन आह्वानको समय लम्बिने संकेत देखिएको कतिपयको भनाइ छ।