‘उत्तर कोरियाविरुद्ध कडा कदम चाल्न सकिने'

  • 10 एप्रिल 2017
क्षेप्यास्त्र तस्वीर कपीराइट EPA

प्योङयाङले अर्को पारमाणविक परीक्षण वा अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरे उत्तर कोरियाविरुद्ध कडा कदम चाल्न दक्षिण कोरिया र चीन सहमत भएका छन्।

सोलमा चिनियाँ र दक्षिण कोरियाली दूतहरुबीच भएको बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो।

बेइजिङ प्योङयाङको एकमात्र भरपर्दो सहयोगी भएको बताइन्छ।

संयुक्त राष्ट्रसंघीय नाकाबन्दीका बावजुद उत्तर कोरियाले सैन्य क्षमता अभिवृद्धि गर्ने काम जारी राखेको छ।

खतरा

खासमा नेता किम जङ अनको शासनकालमा त्यस्ता परीक्षणको मात्रा झन् बढेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ साथ पाए वा नपाए पनि अमेरिकाले उत्तर कोरियाली क्षेप्यास्त्र खतरासँग एक्ले जुध्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि अमेरिकाले आइतबार कोरियाली प्रायद्वीप नजिकै एउटा विमानवाहक र तीनवटा निर्देशित क्षेप्यास्त्र विध्वंसकसहितको 'कार्ल भिजन स्ट्राइक ग्रुप' परिचालन गरिएको जनाएको थियो।

प्योङयाङले गत बुधबार मात्रै मध्यम दूरीको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।