जी सेभेनको बैठकमा सिरियाबारे छलफल

  • 10 एप्रिल 2017
रेक्स टिलरसन तस्वीर कपीराइट Reuters

इटलीमा सोमबारदेखि शुरु हुन लागेको जी सेभेन समूहको वार्ता सिरियामा गत हप्ता गरिएको भनिएको रासायनिक आक्रमणप्रति संयुक्त प्रतिकृयाको खोजीमा केन्द्रित रहने देखिएको छ।

रुसलाई सिरियाली राष्ट्रपति बशर अल असदबाट अलग हुन कसरी दबाब दिने भन्नेमा ती देशका विदेश मन्त्रीहरु केन्द्रित रहनेछन्।

अमेरिकाले मिश्रित प्रतिकृया दिएपछि ती देशले अमेरिकाको सिरिया सम्बन्धी नीतिबारे स्पष्टता खोज्ने छन्।

आइतबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले रुसको कडा आलोचना गरेका थिए।

रुसले सिरियालाई रासायनिक आक्रमण गर्नबाट रोक्न नसकेको उनले बताए।

विवाद

गत बुधबार विद्रोही नियन्त्रित नगर खान शेइखुनमा रासायनिक आक्रमण गरिंदा ८९ जना मारिएका थिए।

टिलरसनले सिरियाप्रतिको अमेरिकी नीतिप्रति कुनै परिवर्तन नआएको भन्दै वाशिंगटनको पहिलो प्राथमिकता इस्लामिक स्टेट भनिने समूहलाई पराजीत गर्नु भएको बताए।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूतले सिरियामा बशर अल अद राष्ट्रपति रहुञ्जेल सिरिया स्थीर हुन नसक्ने बताएको एक दिनपछि टिलरसन ले त्यसो भनेका हुन्।

निकी हेलीका त्यस्ता टिप्पणी र अमेरिकी प्रशासनको नीतिका बीच देखिएको फरकलाई ह्वाइट हाउसले अनजानमा भएको भनेर बेवास्ता गरेको छ।

दवाव

एकजना वरिष्ठ युरोपेली कूटनीतिज्ञले सिरियामा 'अमेरिका अँध्यारोमा कुनै उद्देश्यबिना हराइरहेको' टिप्पणी गरेको रोयटर्स समाचार संस्थाले उद्धृत गरेको छ।

आगामी दुइ दिनमा ती देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिरियाको समर्थन नगर्न र सिरियाका बारेमा राजनीतिक समाधान खोज्ने काम तीव्र गतिमा गर्न सघाउन दबाब दिनेछन्।

मस्कोले आफ्नो अडान नछोडेमा ब्रिटिश विदेशमन्त्री बोरिस जोनसनले रुस विरुद्ध नयाँ प्रतिबन्ध लगाउने आह्वान गर्ने अनुमान गरिएको छ।

रुसले क्राइमियालाई आफुमा मिलाएपछि उसमाथि अमेरिका र इयुले यो भन्दा अघि नै थुप्रै प्रतिबन्धहरु लागू गरेका छन्।

रुसको अडान

जी सेभेन समूहको बैठक सकेर मंगलबार टिलरसन मस्को जाँदैछन्, जहाँ उनले अमेरिकाका सहयोगीहरु समर्थित केही कडा मागहरु रुससमक्ष राख्ने अपेक्षा गरिएको छ।

सिरियाले रासायनिक हतियार प्रयोग गरेको अस्वीकार गरेको छ र अमेरिकाले त्यसको कुनै प्रमाण दिन नसकेको रुसको भनाइ छ।

असदका प्रमुख सैनिक सहयोगीहरु रुस र इरानले अमेरिकाले थप हवाइ हमला गरेमा प्रत्याक्रमण गर्ने धम्की दिएका छन्।

कुनै समय रुसी सञ्चारमाध्यमका प्रिय पात्र डोनल्ड ट्रम्प अहिले त्यो स्थानमा छैनन्।