स्वीडेनमा संदिग्धद्वारा अपराध स्वीकार

  • 11 एप्रिल 2017
स्टकहोम आक्रमणका सन्दिग्ध तस्वीर कपीराइट Swedish Police

स्टकहोम आक्रमणका संदिग्धले "आतंकवादी अपराध" गरेको स्वीकार गरेको उनका वकीलले बताएका छन्।

स्वीडेनको राजधानीमा हिरासतबाटै गरिएको सुनुवाइमा उनले त्यसो भनेका हुन्।

उज्बेकिस्तानका ३९ वर्षीय रख्मत अकिलोभले अदालमा आफ्नो जिम्मेवारी स्वीकार गरेका हुन्।

शुक्रबार एउटा डिपार्टमेण्ट स्टोरमा लरी जोताइंदा ४ जना मारिएका थिए।

थुप्रै मानिस घाइते भएका थिए र दुईजनाको अवस्था गम्भीर छ।

कडा सुरक्षा

अकिलोभलाई हतकडी लगाएर अदालतमा लगिएको थियो।

सुरक्षा व्यवस्था कडा गरिएको त्यहाँ उपस्थित बीबीसी संवाददाताले बताए।

सुरक्षा फौज अकिलोभसँग परिचित भएको स्वेडिश प्रहरीले बताएको छ।

उनलाई स्वीडेनमा आवासको अधिकार नदिइएको र उनले इस्लामिक स्टेट भनिने समूहका लागि समर्थन व्यक्त गरेको प्रहरीको भनाइ छ।

विगत

रख्मत अकिलोभ रक्ताम्य भएकै अवस्थामा घटनास्थलबाट भागेको बताइएको छ।

उनलाई घण्टौंपछि स्टकहोमको उत्तरी उपशहरी क्षेत्रमा गिरफ्तार गरिएको थियो।

उनका पत्नी र छोराछोरी उज्बेकिस्तानमै रहेको बताइएको छ।

उनी गत फेब्रुअरी महिनामा बेपत्ता भएका थिए र त्यसपछि प्रहरीले खोजिरहेका मानिसको सूचीमा उनलाई राखेको थियो।

आक्रमणपछि स्वीडेनका कानूनमन्त्री मोर्गन जोहान्सनले देशको आतंकवादसम्बन्धी कानुनहरु कडा बनाउन खोजिरहेको बताएका छन्।