लिबियामा आप्रवासी 'दाससरह बेचिंदै'

  • 11 एप्रिल 2017
आप्रवासीहरु तस्वीर कपीराइट AFP

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले लिबियामा आप्रवासीहरुको दासका रुपमा किनबेच भइरहेको भन्दै मानव तस्करीको चिन्ताजनक नयाँ प्रचलन देखिएको बताएको छ।

भूमध्यसागर तरेर युरोप जान चाहने आप्रवासीका लागि लिबिया महत्वपूर्ण स्थल हो।

परिचयपत्र नभएका र मानव तस्करलाई दिने पैसा समेत नभएका आप्रवासीहरुलाई बढ्दो रुपमा दासका रुपमा बेचिंदै गरेको अन्तर्राष्ट्रिय आप्रवासी संगठनले बताएको छ।

आइओएमले अन्तर्वार्ता गरेका आप्रवासीहरुले मानव तस्करहरुले आफूलाई लिबियाको तटसम्म पुग्न नदिएको बताएका छन्।

जबरजस्ती

आफूलाई ती मानव तस्करहरुले नगरको चोकमा वा पार्किङ स्थलमा लगेर दासका रुपमा बेचेको ती आप्रवासीहरुले बताए।

उनीहरुलाई ठूलो गोदाममा वा कोही नबस्ने भवनमा राखिने र काम गर्न वाध्य गरिने बताइएको छ।

केही आप्रवासीले आफूलाई दिनदिनै पिटिएको र परिवारलाई फोन गरेर पैसा माग्न लगाइएको बताएका छन्।

त्यस्ता केही स्थानमा पुगेका आइओएम कर्मचारीले जानाजान कुपोषण, यौन दुर्व्यवहार र हत्या गरिएको समेत प्रमाण भेटेको बताएका छन्।

तस्करी

लिबियामा आप्रवासीहरुको स्थिति यो भन्दा अघि नै खराब रहेको अवस्थामा दास किनबेचको प्रवृत्ति एकदम चिन्ताजनक भएको आइओएमले बताएको छ।

बीबीसीकी जिनीभा संवाददाता इमोजेन फूक्ससंगको अन्तर्वार्तामा आइओएमका लिबिया प्रमुख ओटमन बेलबीसीले धेरै आप्रवासीहरुसंग यात्राका लागि आवश्यक परिचयपत्र नहुने र मानव तस्करलाई मात्रै उनीहरुको ठेगाना थाहा हुने गरेको बताए।

कसैले थाहा नपाई थुप्रै आप्रवासीले मरुभूमिमा ज्यान गुमाउने गरेको पनि उनले बताए।

'दास बजार'

यस्ता विभिन्न कारणले गर्दा दासहरुको बजार फस्टाएको बताइएको छ।

लडाकु समूहहरु र मानव तस्करले त्यस्ता मानिसलाई अपहरण गर्ने र उनीहरुसंग पैसा नभएमा उनीहरुलाई बेच्ने गरेको बताइएको छ।

बेचिएकामध्ये अधिकांश पुरुष हुने गरेको भएता पनि महिला पनि बेचिएका र जबरजस्ती वेश्यावृत्तिमा लगाइने गरेको थाहा पाइएको आइओएमले बताएको छ।