घिसारेको प्रति क्षमा याचना
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विमानबाट घिसारेको प्रति क्षमा याचना

  • 12 एप्रिल 2017

अमेरिकाको युनाइटेड एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृतले एक यात्रुलाई लछारपछार गर्दै जबरजस्ती विमानबाट घिसारेर बाहिर निकालिएको घटनालाई “साँच्चिकै त्रासदीपूर्ण” भन्दै क्षमा मागेका छन्।

ट्विटरमा निकै धेरै हेरिएको सो घटनाको भिडियोले आफुलाई विचलित तुल्याइरहेको ओस्कार मुनोजले बताएका छन्।

कदम

उनले यस्तो घटना दोहोरिन नदिन कम्पनीले आवश्यक कदम चाल्ने बताए।

ती यात्रु डाक्टर डेभिड डाओका परिवारले सबैतिरबाट प्रदर्शन गरिएका सहानुभूतिप्रति कृतज्ञता जनाएका छन्। उनलाई शिकागोको एउटा अस्पतालमा उपचारका लागि लगिएको छ।

शिकागोबाट केन्टकीको लुइभिलतर्फ जाँदै गरेको उक्त विमानमा उपलब्ध सीटभन्दा धेरै यात्रु बुक गरिएको थियो।

त्यसैले आफ्ना चार कर्मचारीलाई राख्न एयरलाइन्सले चार यात्रुलाई झर्न अनुरोध गरेको थियो।

कसैले झर्ने इच्छा नदेखाएपछि एयरलाइन्स स्वयंले यात्रु छानेको बताइएको छ।

तीन जनाले एयरलाइन्सको निर्णय माने तर डाक्टर डाओले आफुलाई भोलिपल्ट बिरामी हेर्न जानु पर्ने भन्दै ओर्लिन मानेनन्।

समीक्षा

त्यसपछि उनलाई विमानस्थल प्रहरीले जबरजस्ती घिसार्दा चोटपटक समेत लागेको थियो।

एयरलाइन्स सुरक्षासम्बन्धी निकायले पनि घटनाको समीक्षा गरिने बताएका छन्।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा चर्चित भएपछि युनाइटेड एयरलाइन्सको स्वामित्व रहेको कम्पनीको शेयर मूल्य समेत निकै घटेको थियो।

युनाइटेड कन्टिनेन्टल होल्डिंग्सको शेयर मंगलबार एक चोटि त चार प्रतिशत अर्थात झण्डै एक अर्ब डलर बराबर मूल्यले झरेको थियो।

तर पछि त्यो गिरावट केही कम भयो र बजार बन्द हुने बेला एक प्रतिशत कटौतिको विन्दुमा पुगेको थियो।