तीन नेपाली महिला आरोहीको साहसी यात्रा

  • 12 एप्रिल 2017
कञ्चनजङ्घा आरोही
Image caption यी तीन नेपाली आरोहीले विश्वकै सबैभन्दा अग्ला दुई शिखर चढिसकेपछि तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न लागेका हुन् ( तस्वीर: दावा याङजोम शेर्पाको फेसबुक)

यसअघि विश्वका दुई सबभन्दा अग्ला शिखरको सफल आरोहण गरिसकेका तीन नेपाली महिला आरोहीको 'थ्री विमेन, थ्री टप' नामक टोली तेस्रो अग्लो शिखर कञ्चनजङ्घा चढ्न ताप्लेजुङ पुगेको छ।

हिमाल आरोहण गरी फर्कदैं गरेका पर्वतारोहीको हिमपहिरोमा पुरिएर मृत्यु भएपछि तीन वर्षदेखि आरोहण बन्द गरिएको कञ्चनजङ्घामा पुन: आरोहण खुला गरिएपछि आफ्नो अभियानको अन्तिम लक्ष्य पूरा गर्न उनीहरु लागिपरेका हुन्।

सन्देश

उक्त टोलीले सन् २००७ मा विश्वको सर्वोच्च शिखर सगरमाथा तथा सन् २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो शिखर केटुको सफल आरोहण गरिसकेको छ।

हिमालको संरक्षणका लागि विश्वभर जलवायु परिवर्तनका असर न्यूनीकरणबारे सन्देश प्रवाह गर्नु आफ्नो अभियानको उद्देश्य भएको उनीहरुले बताएका छन्।

आरोहण दलकी सदस्य दोलखाकी दावा याङजोम शेर्पाले भनिन्, "जलवायु परिवर्तनका असर निकै डरलाग्दा हुन्छन्। हिउँ धेरै पग्लिएका छन्। यो न्यूनीकरण हुनुपर्छ। त्यही सन्देश हामी दिन चाहन्छौं।"

पर्यटन मन्त्रालयका अनुसार कञ्चनजङ्घा आरोहण खुला भएयताको ६० वर्षको इतिहासमा हालसम्म नौ जना विदेशी महिलाले मात्र कञ्चनजङ्घाको सफल आरोहण गरेका छन्।

कठिन चुनौती

तुलनात्मक रुपमा आरोहणका लागि कठिन मानिने कञ्चनजङ्घामा नेपाली महिलाको पहिलो पाइला टेकाउन र महिलाहरु सजिलो हिमाल मात्र आरोहण गर्छन् भन्ने भ्रम चिर्न पनि आफूहरुले ८,५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेको आरोहण दलकी संयोजक माया शेर्पा बताउँछिन्।

"नेपालमा अरु हिमाल पनि छन् जसको टाकुरामा नेपाली महिला पुग्न सकेका छैनन्। महिलाले गर्न नसक्ने केही छैन भन्ने हामी देखाउन चाहन्छौं।"

तीन सदस्य रहेको नेपाली महिलाको उक्त टोलीमा दावा याङजोम र मायासहित सोलुखुम्बुकी पासाङल्हामु शेर्पा पनि रहेकी छन्।

कञ्चनजङ्घाको आरोहण तीन वर्षसम्म ठप्प रहँदा सुस्ताएको ताप्लेजुङको पर्यटन व्यवसाय नयाँ आरोहणयामसँगै फेरि पुनर्जीवित हुने आशा व्यवसायीहरुले राखेका छन्।