राणा महासंघको पहिलो महिला अध्यक्ष

  • 12 एप्रिल 2017
भवानी राणा तस्वीर कपीराइट Bhawani Rana's facebook
Image caption महासंघको ५१ वर्षको इतिहासमा अध्यक्ष हुने भवानी राणा पहिलो महिला हुन्

नेपाल उद्योग वाणिज्य महासंघको ५१ वर्षलामो इतिहासमा पहिलो महिला अध्यक्ष भएकी भवानी राणाले विदेशी मुलुकसंग व्यापार बढाउन आफू केन्द्रित रहने बताएकी छन्।

राणाका अनुसार निजी संगठनको उच्च पदमा पुग्नु उनकालागि अवसर र चुनौती दुवै हुन्।

यो चुनौती सामना गर्न आफू तयार रहेको उनले बताइन्।

पुरुष सरह महिला पनि सक्षम छन् भनेर देखाउने अवसर राणामाथि आएको र उनको कुसल नेतृत्वले महिला सशक्तिकरणमा सकारात्मक प्रभाव पर्ने अर्थ विज्ञहरु बताउँछन्।

महिला

नेपालमा राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीश जस्ता महत्वपूर्ण पदमा पहिलो पटक महिलाले नेतृत्व गरिरहेको अवस्थामा व्यापारिक पृष्ठभूमिकी अर्की एक महिला निजी क्षेत्रको छाता संगठनको उच्च पदमा पुग्न सफल भएकी छिन्।

नेपाल उद्योग वाणिज्य महासंघले कार्तिक महिनामा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने नियम बनाएपछि, अघिल्लो कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष भवानी राणा, मंगलबार भएको निर्वाचनमा प्रतिस्पर्धानै नगरी नयाँ कार्यसमितिको अध्यक्ष भएकी हुन्।

महिला नेतृत्व तहमा पुग्नु उनको लागि मात्र नभएर महासंघको लागि पनि गौरवको विषय भएको राणाले बताइन्।

व्यापार व्यसायमा दुई दशक भन्दाबढी बिताइसकेकी राणाले आफ्नो कार्यकालमा विदेशी मुलुकसंग व्यापार बढाउनेमा केन्द्रित रहने बताइन्।

योजना

उनले भनिन्, "व्यापार बढाउन बढी केन्द्रित रहनेछु, त्यसमा पनि भारत र चीनसंगको व्यापार बढाउने मेरो कार्यसूचीमा छ। "

यसबाहेक युवाहरुका लागि केही योजना बनाएकोर "स्मार्ट" शहरको विषयमा पनि केही गर्ने उनको योजना रहेको छ।

मध्य पश्चिमको नेपालगञ्जबाट होटल व्यवसायमार्फत व्यापार व्यवसायमा लागेकी राणा १२ वर्ष अघि मनोनित सदयस्बाट महासंघको कार्यकारी समितिमा प्रवेश गरेकी थिइन्।

त्यसयता उनी जिल्लाको तर्फबाट अध्यक्ष र वरिष्ठ अध्यक्ष हुँदै महासंघको १८ औं अध्यक्ष भएकी हुन्।

चुनौती

४८ वर्षीय राणा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष हुन्।

उनी नेपाल लगानी बोर्डकी सदस्य पनि हुन्।

यति लामो अनुभवका बावजुद उनका सामु चुनौती पनि त्यतिकै रहेको जानकारहरु बताउँछन्।

अर्थ विज्ञ विश्वभर प्याकुरेलले भने, "मञ्चमा धेरै नजाने र नबोल्ने बानीलाई पनि उहाँले परिवर्तन गर्न पर्छ।"

प्याकुरेलका अनुसार राणाको कुशल नेतृत्वले महिला सशक्तिकरणमा सकारात्मक प्रभाव पार्नेछ र अन्य क्षेत्रमा पनि महिलालाई नेतृत्व लिन बल पुराउने छ।

दावी

राणा भने महासंघको अध्यक्षको जिम्मेवारी निभाउने चुनौती मात्र नभएर अवसर पनि रहेको बताउँछिन्।

उनले भनिन्,"मेरो विचारमा चुनौतीसंगै अवसरहरु पनि प्राप्त हुन्छ, त्यसकारण मैले चुनौती संगसंगै अवसरलाई अगाडि बढाउने भनेर सोचेकी छु।"

कृषि र वित्तीय क्षेत्रमा पनि आफू संलग्न रहेको राणा बताउँछिन्।

भविष्यमा उत्पादन क्षेत्रमा काम गर्ने योजना रहेको पनि उपाध्यक्ष राणाले बताइन्।

यस अघि अध्यक्ष पदका लागि तीव्र प्रतिस्पर्द्धा हुने गरेकोमा महासंघको विधानमा परिवर्तन भएसंगै वरिष्ठ उपाध्यक्षको पद महासंघको चुनावमा सबैभन्दा बढी आकर्षणको केन्द्र हुन पुगेको छ।

मंगलबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा शेखर गोल्छा र किशोर प्रधान चुनावी प्रतिस्पर्धामा उत्रेका थिए।

जसमा गोल्छाले प्रधानलाई पराजीत गर्दै तीन वर्षपछि बन्ने नयाँ कार्यसमितिको अध्यक्षको पद सुनिश्चित गरेका छन्।