'अमेरिकासंगको सम्बन्ध झनै बिग्रिन थाल्यो'

  • 12 एप्रिल 2017
ट्रम्प तस्वीर कपीराइट Getty Images

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले डोनल्ड ट्रम्पले सत्ता सम्हालेपछि रुस र अमेरिकाबीचको सम्बन्ध झनै बिग्रिन थालेको बताएका छन्।

रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभ र उनका अमेरिकी समकक्षी रेक्स् टिलरसनबीच मस्कोमा भेट हुँदै गर्दा पुटीनले रुस र अमेरिकाबीचको विश्वासको संकट झनै बढेको प्रतिक्रिया दिएका हुन्।

पुटिनले रुसी टीभीसँग कुरा गर्दै ट्रम्प गत जनवरी महिनामा अमेरिकाको राष्ट्रपति चुनिएयता दुई देशबीचको खासगरी सैन्य तहको सम्बन्ध बिग्रिएको प्रतिक्रिया दिए।

सिरियामा भएको ठानिएको रासायनिक हमलाबारे बढ्दो चिन्तामाझ मस्कोमा रुसी र अमेरिकी विदेश मन्त्रीबीच भेटघाट भएको हो।

आग्रह

अमेरिकाले रुसलाई सिरियाली सरकारलाई सहयोग बन्द गर्न आग्रह गरिरहेको छ।

तर रुसले सिरियाली हवाइ अड्डामा अमेरिकाले गरेको क्षेप्यास्त्र आक्रमणको विरोध गरिरहेको छ।

इद्लीब प्रान्तमा सिरियाली सरकारले गरेको भनिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरुप अमेरिकाले सिरियाली हवाइ अड्डामा आक्रमण गरेको थियो।

मीर टेलीभीजनसँगको कुराकानीका क्रममा पुटिनले सिरियाले रासायनिक हतियारको भण्डार छोडिसकेको बताए।

टिलरसनसँगको भेटअघि विदेशमन्त्री लाभ्रोभले चाहिँ वासिङ्टनका विरोधाभाषपूर्ण मतका कारण जटिल प्रश्नहरु उब्जिइरहेको बताएका थिए।

टिलरसनले रुससँग स्पष्ट ढंगले कुराकानी गरिने बताएका थिए।

मस्कोस्थित बीबीसीका संवाददाता स्टीभ रोजनबर्ग भन्छन्, रुसलाई उसको मध्यपूर्वको महत्वपूर्ण साझेदारबाट अलग गर्ने कूटनीतिक प्रयास आफैंमा निकै कठीन छ।