‘हराइरहेका’ पाकिस्तानीबारे प्रहरी अनभिज्ञ

  • 12 एप्रिल 2017
मोहम्मद हबिब जाहिर तस्वीर कपीराइट मोहम्मद हबिब जाहिरको फेसबुक

भारतसँग सीमा जोडिएको लुम्बिनी क्षेत्रबाट गत बिहीबाररदेखि हराइरहेको भनिएका एकजना अवकाशप्राप्त पाकिस्तानी सैनिक अधिकारीको खोजी तीव्र पारिएको बताइएपनि भैरहवास्थित गौतम बुद्ध विमानस्थलवाट बाहिरिएपछिको उनको पछिल्लो अवस्थाबारे हालसम्म कुनै संकेत फेला नपरेको अधिकारीहरुले बताएका छन्।

झण्डै तीन वर्षअघिमात्र पाकिस्तानी सेनावाट अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर रोजगारीका लागि अन्तर्वार्ता दिन ओमान भएर काठमाण्डु आएलगत्तै भैरहवा विमानस्थालमा पुगेको अधिकारीहरुले जनाएका छन्।

प्रहरी अनुसन्धान अनुसार उनी बुद्धएअरको विमान चढेर काठमाण्डूबाट गौतमबुद्ध विमानस्थल उत्रेपछि अचानक सम्पर्कविहीन भएका थिए।

नेपाल प्रहरीको विशेष ब्युरोको सहयोगमा जिल्ला, अञ्चल र क्षेत्रीय प्रहरी कार्यालयले उनको फोटो र सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीलाई प्राप्त भएको सीसीटीभी फुटेजमा हराएको भनिएका हबिब जाहिर एउटा पछाडी भिर्ने झोला र अर्को हाते झोलावोकेर विमानस्थल बाहिरसम्म हिंडेर आएको देखिने प्रहरीको भनाइ छ।

परिचित

सिसिटिभिमा देखिए अनुसार ती हराएका व्यक्ति विमानस्थल बाहिर आएलगत्तै एकजना परिचित जस्तै देखिने अर्का व्यक्ति उनलाई लिन आएको हुनसक्ने लुम्बिनी अंञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिपक थापाले बताए।

उनले भने, "सिसिटीभी फुटेजमा हेर्दाखेरी उहाँलाई लिन एक व्यक्ति आएको जस्तो देखिन्छ। त्यसमा हामी अहिले अनुसन्धान गरिरहेका छौं। जुन हिसाबमा उहाँलाई रेस्पोन्स गरिएको छ र उहाँले रेस्पोन्स गर्नुभएको छ रिसिव गर्ने व्यक्तिलाई, त्यो चाहिं अलिकती चिर परिचित जस्तो देखिन्छ।"

उनलाई लिन आएको हुनसक्ने ब्यक्ति र विमानस्थलवाट बाहिरिनकालागि प्रयोग गरिएको सवारिसाधन पहिचानकालागि पनि अनुसन्धान अधिकारीहरु खटिएको प्रहरीको भनाइ छ।

संकेत

प्रहरीले विमानस्थल क्षेत्रमा चल्ने ट्याक्सी र अन्य सवारीसाधनका चालकहरुसँग सोधपुछ गरेपनि बुधबारसम्म कसैले पहिचान गर्न नसकेको बताएको छ।

भैरहवा, लुम्बिनी, कपिलवस्तु, नवलपरासीस्थित होटलहरुमा निजको नाममा कुनैपनि कोठा बुक नभएको पाइएको छ।

नेपालको परराष्ट्र मन्त्रालयमार्फत पाकिस्तान सरकारको औपचारिक अनुरोध प्राप्त गरेलगत्तै खोजी कार्यलाई तीव्रता दिईएपनि हालसम्म कुनै संकेत फेला नपरेको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए।

प्रवक्ता पन्थीले भने, "यो अनुसन्धानको क्रममा रहेको कुराहरु अहिले सार्वजनिक गर्न मिल्दैन। सो कार्यमा खटिएको मान्छेले मात्रै सीमित राखेको हुन्छ। तर हालसम्म खोजतलासमा कुनै उपलब्धि भएको छैन । खोजतलासको काम निरन्तर जारी छ।"

पुष्टि

पछिल्लो समयमा नेपाल प्रहरीले सम्भावित टेलिफोन सम्पर्क र अन्य प्राविधिक पक्षमा अनुसन्धान केन्द्रित गरेको जनाएको छ।

पाकिस्तानी अधिकारीहरुले एप्रिल ६ तारिखमा कुनै राष्ट्रसंघीय निकायकालागि अन्तर्वार्ता दिन लुम्बिनी गएको उनले ह्वाट्सएपबाट परिवारलाई पठाएको तस्वीरले देखाएको उल्लेख गरेका छन्।

तर नेपाली अधिकारीहरुले भने के कति कारणले उनी नेपाल आएको भन्ने पुष्टिहुन बाँकी नै रहेको बताएका छन्।

मोहम्मद हबिब अकस्मात बेपत्ता हुनुलाई कतिपय भारतीय र पाकिस्तानी संचारमाध्यमले भने हालसालै पाकिस्तानमा मृत्युदण्डको फैसला सुनाइएका भारतीय कुलभुषण जादवसँग जोडेर हेरेका छन्।