ट्रम्पद्वारा असदको निन्दा, नेटोको प्रशंसा

  • 13 एप्रिल 2017
नेटो ट्रम्प तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली राष्ट्रपति बशार अल असदले निर्दोष गैरसैनिकको बर्बर हत्या गरेको भन्दै गृहयुद्ध अन्त्य हुनुपर्ने बताएका छन्।

साथै उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटो अब अप्रासंगिक नरहेको भन्दै आफ्नो विगतको नीति बदलेका छन्।

नीति फेरबदल

विगतमा नेटोको अब कुनै काम नरहेको भन्ने सम्मका टिप्पणी गरि आफ्ना गठबन्धन साझेदारहरुलाई त्रसित तुल्याएका ट्रम्पले उक्त नीति उल्ट्याएको संकेत गर्दै नेटोको भूमिकाको प्रशंसा गरेका छन्।

ह्वाइट हाउसमा नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गलाई स्वागत गर्दै उनले आतंकवादको विद्यमान खतराले गठबन्धनको महत्व थप झल्किएको बताए।

उनले भने, "सिरियामा जारी यो अवस्थाको समाधान गर्न हामीले संगसंगै काम गर्नुपर्छ। हामी यस विषयमा नेटोका सदस्य तथा साझेदारहरुको समर्थनप्रति कृतज्ञ छौं।"

उनले नेटोलाई इराकी तथा अफगान साझेदारहरुलाई मद्दत गर्न थप काम गर्न पनि आग्रह गरे।

विगतमा उनले नेटोको उद्देश्यमाथि प्रश्न गर्दै सो संगठन भरथेग गर्न अमेरिकाले अनावश्यक बढी खर्च बेहोर्नुपरेको बताउने गरेका थिए।

स्टोल्टेनबर्गसंगको भेटपश्चात राष्ट्रपति ट्रम्पले अरु सदस्य राष्ट्रले पनि यथोचित खर्च बेहोरेको खण्डमा सबैजना थप सुरक्षित हुने उल्लेख गरे।

तस्वीर कपीराइट Getty Images
Image caption मस्कोमा अमेरिकी विदेशमन्त्री टिलरसनले रुससंगको सम्बन्ध विग्रिएको र त्यसलाई सुधार्न आवश्यक भएको बताएका छन्

रुससंग विग्रियो सम्बन्ध

नेटोका महासचिवले राम्रो र फलदायी कुराकानीका निम्ति ट्रम्पलाई धन्यवाद दिए।

ह्वाइट हाउसमा उक्त बैठक अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले मस्कोमा पुटिनसंग वार्ता गरेको केही घण्टापछि भएको थियो।

रुससंगको सम्बन्ध भने निकै विग्रिएको ट्रम्पले उल्लेख गरे।

बुधबार ट्रम्पले केवल नेटोबारेमात्र उनको नीति नबदलिएको दर्शाउँदै अब चीनलाई मुद्रा चलखेलकर्ताको संज्ञा पनि नदिने बताएका थिए।

चुनावी अभियानका बेला आफुले जिते राष्ट्रपति भएको पहिलो दिन नै चीनमाथि त्यस्तो आरोप लगाउने वाचा उनले पटकपटक गरेका थिए।