‘दमकलको न्यून संख्याले चिन्ता’

  • 13 एप्रिल 2017
दमकल

हावाहुरीको याम शुरु भएसँगै देशका विभिन्न स्थानमा आगलागी भएका विवरणहरु आइरहंदा उक्त विपद् नियन्त्रणमा महत्वपूर्ण दमकलको न्यून संख्याले चिन्ता थपिदिएको छ।

पौने ३ करोड हाराहारीको जनसंख्या रहेको नेपालमा जम्मा ९८ वटा दमकल छन्।

त्यसमध्ये पनि आधाभन्दा बढी दमकल दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा आउन नसकेको अधिकारीहरु बताउँछन्।

त्यसमाथि दमकल सञ्चालन सम्बन्धी प्रष्ट कानूनी व्यवस्था नहुँदा त्यसको परिचालनमा समस्या देखिएको बताइएको छ।

स्थानीय स्वायत्त शासन ऐनले नगरपालिकाहरुले दमकल सञ्चालन गर्ने भनेपनि त्यसको कार्यविधि नै नरहेको दमकलसँग सम्बन्धित अधिकारीहरुले बताएका छन्।

साथै दमकलसम्बन्धी केन्द्रीय संरचना पनि छैन।

स्थानीय विकास मन्त्रालयका अधिकारीहरुले भने अबको प्रादेशिक संरचनामा त्यस सम्बन्धी नयाँ राष्ट्रिय कार्यनीति बनाउन लागिएको बताएका छन्।

क्षति

गर्मी बढ्दै जाँदा देशका विभिन्न भागमा वृद्धि भएको आगलागीबाट ठूलो धनजनको क्षति भइसकेको विवरणहरु आएका छन्।

तर हरेक नगरपालिकामा राख्नुपर्ने भनिएको दमकलको सञ्चालनसम्बन्धी प्रष्ट कानूनी व्यवस्था नभएको अधिकारीहरु बताउँछन्।

जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख किशोर भट्टराईले भने, "सरकारले नियम कानून नै बनाउँदैन। सेवा समूह नै गठन गरेको छैन। केन्द्रीय स्तरमा यसको कुनै संगठन संरचना पनि छैन"।

"स्थानीय स्वायत्त शासन ऐनमा नगरपालिकाले दमकल सञ्चालन गर्नुपर्ने छ भन्ने एउटा कुरा मात्रै परेको छ। चलाएन भने पनि किन चलाएन भन्ने पनि छैन। त्यसको कार्यविधि पनि छैन। त्यसको लागि छुट्टै जनशक्ति पनि छैन"।

अधिकांश नगरपालिकाले बजेट अभावका कारण दमकल सेवा दिनमा रुचि नदिएको बताइन्छ।

भएका नगरपालिकामा पनि दमकलको विषयमा अधिकारीहरु संवेदनशील हुन नसकेको भट्टराईले बताए।

नयाँ योजना

यद्यपि उच्चअधिकारीहरुले भने अब स्थानीय तहमा विपद् व्यवस्थापनको लागि विशेष राष्ट्रिय नीति निर्माण गर्ने तयारी भइरहेको बताएका छन्।

स्थानीय विकास मन्त्रालय अन्तर्गतको नगरपालिका तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख रुद्र तामाङ भन्छन्, "मन्त्रालयले अहिले उत्थानशील शहरसम्बन्धी रणनीति तयार गरेर राष्ट्रिय स्तरमा एउटा नीति बनाउने र प्रत्येक नगरपालिकाले त्यो नीतिभित्र बसेर काम गर्न सहजीकरण गर्ने भन्ने हामीले सोचेका छौं"।

नयाँ सरचना अनुसार देशमा चार महानगरपालिका, १३ उपमहानगरपालिका र २४६ नगरपालिका छन्।

त्यसमा एउटा दमकल र त्यसमा आवश्यक दक्ष जनशक्ति राख्न सके आगलागी बेलैमा नियन्त्रणमा आउने र ठूलो क्षति हुनबाट जोगिने आशा गरिएको छ।