प्राकृतिक वासस्थानमै छाडिंदै गिद्ध

  • 13 एप्रिल 2017
गिद्ध
Image caption प्रजनन केन्द्रमा हर्काइएका छ वटा गिद्धलाई बैशाख २ गते नवलपरसाीस्थित 'गिद्ध रेस्टुराँ'मा छाड्न लागिएको छ। (तस्वीर: डीबी चौधरी/गिद्ध रेस्टुराँ)

चितवन राष्ट्रिय निकुञ्ज कसरामा प्रजनन गरी हुर्काइएका गिद्धहरुलाई तिनको प्राकृतिक वासस्थानमा छाडिने भएको छ ।

गिद्ध संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रजनन केन्द्रले नौ वर्षको प्रयासपछि गिद्ध छाड्न लागेको अधिकारीहरुले बताएका छन् ।

प्रजनन केन्द्रमा हुर्केका छवटा गिद्धलाई बैशाख २ गते नवलपरासीको पिठौलीमा रहेको 'गिद्ध रेस्टुराँ'मा लगेर छाडिने चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कँडेलले बताए।

निगरानी

प्रजनन गरी हुर्केका गिद्धलाई प्राकृतिक वासस्थानमा नै निर्माण गरिएको तार जालीको खोरमा केही महिना निगरानीमा राखिने नेपाल पंक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रमान बाबु प्रधानले बताए।

उनले भने, "गिद्धको गतिविधि हेर्न जंगली छ र प्रजनन गरिएका छ वटा गिद्धमा रेडियो कलर जडान गरिनेछ"।

सन् २०१९ सम्ममा १९ वटा गिद्ध प्राकृतिक वासस्थानमा छाडिने लक्ष्य सरकारको छ ।

गिद्धको संख्या ९१ प्रतिशतले घटेको पाइएपछि तिनको संरक्षण गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जको कसरामा सन् २००८ मा गिद्ध प्रजनन केन्द्र स्थापना गरिएको थियो।

हाल सो प्रजनन केन्द्रमा ५६ वटा माउ गिद्ध र ९ वटा बच्चा गिद्ध रहेका छन् ।

गिद्ध प्रजनन केन्द्र र गिद्ध संरक्षणको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पक्षी संरक्षण संघ लगायत विभिन्न निकायहरुले आर्थिक सहयोग गर्दै आएका छन्।