लीलबहादुर क्षेत्रीसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लीलबहादुर क्षेत्रीसंगको कुराकानी

  • 14 एप्रिल 2017

नेपाली भाषामा मुनामदन पछि सबैभन्दा बढी बिक्ने भनिएको कृति लीलबहादुर क्षेत्रीको 'बसाईं' नेपाली साहित्यको मानक उपन्यास मानिन्छ।

पहाडी जीवन र आप्रवासको चित्रण गरिएको 'बसाईं' पछि क्षेत्रीले फुटकर रचना बाहेक 'अतृप्त', 'ब्रह्मपुत्रका छेउछाउ' र 'प्रतिध्वनिहरु विस्मृतिको' नामक ३ वटा मात्रै उपन्यास लेखेका छन्।

तर नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुराएकोमा उनी नेपालमा जगदम्बाश्री पुरस्कारबाट र भारतमा अकादेमी पुरस्कारबाट सम्मानित छन्।

भारतको आसाममा सन् १९३४ मा जन्मेका क्षेत्री बुवाको रामायण श्लोक गायन र आमाको संगिनी गीत जस्ता नेपाली संस्कृतिबाट प्रभावित भएको बताउँछन्।

गुवाहाटी निवासी क्षेत्रीलाई आठ वर्षको उमेरमा नेपाल पुगेको याद छ, जहाँ नेपाली जनजीवनमा भिजेको समयलाई सम्झेर नै पछि साहित्य लेखनमा लागेको उनी बताउँछन्।

पहाडको प्रभाव

"दोस्रो विश्वयुद्धको प्रकोपले पिताजीले हामी सबैलाई पितृथलो पु-याउनुभएको थियो, जुन अहिले तेह्रथुम जिल्लामा पर्छ," उनी सम्झन्छन्।

"त्यहाँ पाँच-सात महिना बस्दा मलाई नेपालको पहाडी जनजीवनले धेरै आकर्षण गर्यो ।

त्यहाँ गाइ गोठालो पनि गरियो, त्यहाँको हाटबजार पनि हेरियो, चाडबाड पनि एकदुइवटा भेटियो।

त्यहाँको व्यवहार-आचार, जीवनशैलीले म मा गहिरो छाप पार्यो, र पछि ठूलो भएपछि तिनै सम्झनाहरुलाई लिपिबद्ध गर्ने इच्छा जागृत भयो।"

बसाईंको प्रेरणा

आफ्नो पहिलो उपन्यास बसाईंमा त्यस्तै जीवनशैली उतार्न थाहेका थिए उनले, विशेषगरी प्रवासी नेपालीलाई पहाडी नेपालको जनजीवन चिनाउन।

"उताको भाषामा प्रवास भनौं। प्रवासमा बसेर हाम्रो जीवन यहींको जस्तो भइसक्यो। तर हाम्रो भाषा, संस्कृति, जीवनशैली त नेपाली हो।

अहिले त भाषाका लागि आन्दोलन पनि भयो, भाषाले संवैधानिक मान्यता पनि पायो।

तर त्यतिबेला यहाँका मानिसलाई नेपालको पहाडी जीवन थाहै हुँदैन थियो, आफ्नो संस्कृतिबाट टाढिंदै गएका थिए।"

संघर्षमय शुरुवात

"लेखिसकेपछि ९ जना साथीलाई भेला गरेर सुनाइयो, प्रकाशन मण्डल बनाएर छाप्ने भने। कसैले पनि चासो दिएनन्," उनी भन्छन्।

"अनि मेरा एकजना सुझबुझ भएका साथीले त्यसलाई नेपाल पठाउन चाहे, मदन पुरस्कार गुठीमा।"

कमलमणि दीक्षितको जवाफ त आयो, पठाउनुस्, मन परे छापौंला भन्ने।

तर उनी आफ्नो पाण्डुलिपि त्यति टाढा पठाउने पक्षमा पनि थिएनन्।

"टाइप गरेको थिएन, हातले लेखको एक प्रति, त्यति टाढा दुइ हजार किलोमिटर पर काठमाण्डुमा, क्या हो कसो हो?" उनी त्यस समयको अन्यौल सम्झन्छन्।

प्रकाशन

तर उनका साथीले हातैले भए पनि सारेर त्यसलाई काठमाण्डु पठाए, "गल्ती कति धेरै थिए, ह्रस्व दीर्घ जम्मै बिगारेर मेरो नामै समेत भुल लेखेर पठाएका थिए," उनी सम्झन्छन्।

"तर आखिर सुनको पारखी त जौहरी मात्रै हुन्छ, कमलमणिजीको हातमा पर्यो, अनि प्रकाशित भयो।"

मदन पुरस्कार गुठीबाट छाप्न त छापियो उनको पुस्तक, तर शुरुवाती दिनमा कसैले पनि त्यसमा रुची नदेखाएको उनी सम्झन्छन्।

"एक सौ कपी बिक्रीको लागि मैले मगाएको थिएँ। दुइजना व्यक्तिले घरघरमा गएर पुश सेल्स गर्यौं। दाम दुइ रुपैंया थियो त्यसको।

एकजना महाजनको पुस्तक पसलमा किताब छोडेको थिएँ, त्यसको केही पछि जाँदा उनले खुब गाली गरेः तपाईं जस्तो पढेलेखेको मान्छेले भगवानका कुरा लेखेको होला भन्ठानेको त, यस्तो गोठाले गफ हामीले नजानेको हो र?"

मनपरेको कृति

तर बिस्तारै बसाईं उपन्यास नेपालमा नै निकै लोकप्रिय भएर आयो, र पाठ्यक्रममा राखिएपछि त झन् त्यो पुस्तकका ३० भन्दा बढी संस्करण प्रकाशित भइसकेका छन्।

लीलबहादुर क्षेत्रीको परिचय नै त्यही उपन्यासले दिएको नेपालका पाठकमाझ, तर उनलाई भने आफ्नो मनपरेको कृति अर्कै रहेछ।

हुन त आसामका नेपाली समुदायको जीवन चित्रित गरिएको उनको चौथो उपन्यास 'ब्रह्मपुत्रका छेउछाउ'ले उनलाई भारतको साहित्य अकादेमी पुरस्कार पनि दिलाएको थियो।

तर उनलाई भने ती पुस्तकका तुलनामा कम चर्चित 'अतृप्त' उपन्यास मन पर्दो रहेछ।

"त्यसमा मैले मनोविश्लेषण शैली प्रयोग गेरको छु" उनी भन्छन्, "जुन मेरा अन्य उपन्यास भन्दा भिन्न छ, र उपन्यासमा हुनुपर्ने शैली चाहिं त्यसमा आएको छ जस्तो लाग्छ।"

लेखन प्रकृया

थोरै लेखेर धेरै यश कमाएका क्षेत्रीलाई अझ धेरै लेखौं भन्ने जस्तो चाहिं लाग्दैन रहेछ।

थुप्रै वर्ष रेडियोमा काम गर्दा आफ्नो श्रृजनात्मकता त्यतातिर छरिएको पनि उनी बताउँछन्।

"रेडियोका लागि नाटकहरु थुप्रै लेखें, अहिले ती कतै कार्यालयका फाइलमा छरिइरहेका छन्, म संकलन गरेर प्रकाशित गर्ने प्रयासमा छु।"

त्यो बाहेक उनका केही फुटकर रचना र कथासंग्रह प्रकाशित छन्, तर उपन्यास भने करीब दस दस वर्षको अन्तरालमा प्रकाशित चार वटा मात्रै।

अध्ययन

"म हरेक पुस्तकमा मैले देखेको टड्कारो जीवन लेख्छु।

लेख्नु भन्दा अघि यथेष्ट अध्ययन गर्नुपर्छ, अध्ययन भन्नाले केवल किताबको अध्ययन होइन, यात्राको पनि बडा जरुरी छ, परिवेश र पृष्ठभूमि बुझ्नुपर्छ" उनी भन्छन्।

"ब्रह्मपुत्रका छेउछाउमा वर्णन गरिएका एकजना महाजन मैले देखेका १० जना महाजनको निचोड हो। म सधैं मानिसहरुसंग कुरा गरेर उनीहरुको जीवन बुझ्ने प्रयासमा हुन्छु।

केही लेख्न बस्नु अघि मैले मनमनमै त्यो पहिले लेखिसकेको हुन्छु। १५ मिनेट लेखेपछि फेरि एक घण्टा सोच्छु। मलाई त समय लाग्छ।

जे पायो त्यही लेखौं जस्तो मलाई लाग्दैन, कम लेखौं तर गुणात्मक लेखौं।"

दायित्वबोध

त्यसरी लेखिएको कृतिमा जीवनको अभिव्यक्ति दिने गरेको उनी बताउँछन्, तर त्यति मात्रै नभएर पाठकप्रति दायित्वबोध पनि गर्दछन् उनी।

भन्छन्: "साहित्य साहित्यकै लागि र कविता कविकै लागि भन्ने म मान्दिन।

जीवनको अभिव्यक्तिका साथै सुनियोजित मार्गदर्शन पनि साहित्यको लक्ष्य हुनुपर्छ।

हाम्रो जीवन कुन दिशामा जानुपर्छ भन्ने निर्क्यौल गरेर मार्गदर्शन दिनु पनि लेखकको दायित्व हो।"

आजीवन सकृयता

जीवनको उत्तरार्द्धमा उनी थाकेका भने छैनन्, अझै मनमा एउटा उपन्यासको कथा खेलाइरहेका छन्।

"आफ्नो जीवनीजस्तो केही लेख्ने पनि विचार छ।

मेरा पिताजी जो सेनामा हुनुहुन्थ्यो, वहाँको जीवनको बारेमा पनि लेख्दै छु, चिठीपत्र आदनप्रदानको शैलीमा रुपमा।

तर त्यसका लागि अझै धेरै अध्ययन गर्नुपर्ने हुन्छ, हेरौं के हुन्छ। नमरी बाँचे, दैवले साँचे।"

त्यो एउटा उपन्यास चाहिं पुरा गर्छु जस्तो लाग्नेरहेछ उनलाई, भन्छन्: शायद यो धर्तीमा मेरो काम बाँकी छ, त्यसैले त इश्वरले पनि मलाई यो उमेरसम्म मलाई बचाइराखेका छन्, सकृय राखेका छन्।