रुसद्वारा बेस्लानमा गरिएको कारवाहीको बचाउ

  • 13 एप्रिल 2017
बेसलानका पीडित तस्वीर कपीराइट AFP
Image caption बेस्लानमा मारिनेहरु मध्ये अधिकांश बालबालिका थिए।

सन् २००४ मा चेचेन विद्रोहीले बेस्लानको एक विद्यालयमा गरेको बन्धक प्रकरणका बेला ३०० बढी बन्धकको ज्यान जानुमा रुस जिम्मेदार रहेको भन्ने एक युरोपेली अदालतको निश्कर्षलाई रुसले अस्वीकार गरेको छ।

युरोपेली मानव अधिकार अदालतले बेस्लान बन्धक प्रकरणमा रुस गम्भीर रुपमा दोषी रहेको बताएलगत्तै त्यसबारे रुसले प्रतिक्रिया जनाएको हो।

सन् २००४ मा चेचेन विद्रोहीले दक्षिणी रुसको बेस्लानको एक विद्यालयमा थुप्रै मानिसलाई बन्धक बनाउँदा रुसी फौजले ट्यांक, ग्रेनेड लन्चर र आगोका लप्काहरु प्रहार गरेका थिए।

त्यतिबेलाको स्थितिलाई नियन्त्रणमा लिन रुस विफल रहेको भन्ने युरोपेली मानव अधिकार अदालतको ठहरलाई रुसले स्वीकार गर्न नसकिएको बताएको छ।

विवाद

रुसले त्यतिबेला आफ्नो देशले कैयौ आतंकवादी हमलाको सामना गर्नु परेको बताउँदै अदालतको निष्कर्ष विरुद्ध पुनरावेदन गर्ने बताएको छ।

तर युरोपेली मानव अधिकार अदालतले बेस्लानमा मारिएका बालबालिकाका आमाहरुले गुप्तचरी सुचना अनुसार रुसले काम गर्न नसकेको भन्ने गुनासोसँग आफू सहमत रहेको बताएको छ।

सो अदालतले सो मुद्दा उठान गर्ने पीडित र तिनका आफन्तलाई तीस लाख डलर भन्दा बढी रकम क्षतिपूर्ति दिने निर्णय गरेको छ।