‘मदर अफ अल बम्स’ कति शक्तिशाली?

  • 14 एप्रिल 2017
अफगानिस्तान तस्वीर कपीराइट Getty Images
Image caption सन् २००३ मा फ्लोरिडामा एमओएबीको परीक्षण गरिएको थियो।

अमेरिकी सेनाले पूर्वी अफगानिस्तानको नाङ्गारहार प्रान्तमा पहिलो पटक हालसम्मकै सबैभन्दा शक्तिशाली गैर परमाणु बम प्रहार गरेको छ।

जीबीयु-फोरथ्री/बी म्यासिभ अर्डनेन्स एअर ब्लास्ट बम (एमओएबी) प्राविधिक नाम रहेको उक्त बमलाई सैनिक भाषामा 'मदर अफ अल बम्स' अर्थात सबै बमहरुकी माताको संज्ञा दिइएको छ।

पछिल्लो हमलाको निशाना अचिन जिल्लाको विकट पहाडी भूभागमा रहेका इस्लामिक स्टेट भनिने आइएस विद्रोहीले प्रयोग गर्ने गुफाहरुको सञ्जाल रहेको बताइएको छ।

गैर परमाणु हतियार भएकाले एमओएबीको प्रहार गर्नका लागि अमेरिकी राष्ट्रपतिको स्वीकृति लिइरहनु पर्दैन।

कसले प्रहार गर्छ एमओएबी?

यो एकदमै विशाल हतियार हो जसको उचाई ३० फिट र र तौल ९८ सय किलो रहेको छ।

अमेरिकाद्वारा सबैभन्दा शक्तिशाली बम प्रहार

भूउपग्रह प्रणाली जीपिएसबाट निर्देशित हुने यो बम एमसी-वान थ्री जिरो नामक सामान बोक्ने विमानको कार्गो राखिने स्थानको ढोकाबाट खसालिन्छ।

तस्वीर कपीराइट Getty Images

जमिनलाई छुनु थौरै अघि यो बम बिस्फोटन हुने गर्छ।

विमानबाट एमओएबीलाई खसाल्ने क्रममा त्यसलाई एउटा अड्याउने बस्तुमा राखेर बाहिर फ्याँकिन्छ।

उक्त बमलाई विशेष प्रकारको प्याराशुटको प्रयोग गरि स्थिर बनाइन्छ र तोकिएको स्थानमा प्रहार गरिन्छ।

यसको मूल प्रभाव भयङ्कर विस्फोटका तरङ्गहरु हुन्।

१८ हजार पाउन्ड अर्थात ८१ हजार केजी भन्दा बढी टीएनटी क्षमताका कारण प्रत्येक दिशामा १ माइल दुरीसम्म विस्फोट हुने बताइन्छ।

सो बमको बाहिरी भागमा रहेको पातलो आल्मुनियमको पत्र विस्फोटको शक्ति बढाउने गरि विशेष किसिमले डिजाइन गरिएको हुन्छ।

तस्वीर कपीराइट Reuters

उक्त बमले जमिनमुनि रहेका संरचना र सुरुङ्गहरुलाई क्षति पुर्याउने सामर्थ्य राख्छ।

इराक युद्धका लागि बनाइएको उक्त बमको निर्माण लागत झण्डै एक करोड ६० लाख डलर प्रति बम रहेको छ।

उक्त बमको परिक्षण सन् २००३ मा गरिएको थियो तर अहिलेसम्म त्यसलाई कहिल्यै पनि प्रयोग गरिएको थिएन।

तर अझै पनि एमओएबी अमेरिकी सेनाको सबैभन्दा शक्तिशाली गैर परमाणु बम भने होइन।

म्यासिभ अर्डनेन्स पेनिट्रेटर भनिने एमओपी साढे तेह्र टन भन्दा बढी क्षमताको बम अमेरिकाले बनाइसकेको छ।

फादर अफ अल बम्स

रुसले पनि आफ्नै पराम्परागत प्रकृतिको शक्तिशाली बम बनाएको छ जसलाई उसले 'फादर अफ अल बम्स (एफओएबी)' अर्थात बमहरुको पिता भन्ने गर्छ।

एफओएबी इन्धन र वायु मिश्रित बम हो जसलाई थर्मोबेरिक अस्त्र पनि भन्ने गरिन्छ।

तस्वीर कपीराइट PUBLIC DOMAIN

थर्मोबेरिक बम दुई चरणमा विस्फोट हुन्छन्।

पहिलो विस्फोटनले विस्फोटक पदार्थहरु छरिवरि पार्छ। ती पदार्थ दोस्रो चरणमा पड्कन्छन्। त्यसले विनाशकारी चापयुक्त तरंग सृजना गर्छ।

एमओएबी जस्ता बमको मूल प्रभाव भनेको त्यसले पार्ने मनोवैज्ञानिक असर ठानिन्छ। भयङ्कर शक्तिशाली विस्फोटका कारण सिर्जना हुने त्रासले शत्रुमाझ अत्यन्त ठूलो प्रभाव पार्ने यसको उद्देश्य हुन्छ।

वन क्षेत्रलाई सम्याएर हेलिकोप्टर अवतरण गर्ने स्थान निर्माण गर्न प्रयोग गरिने बीएलयू-एटिटु डेजी कटर र त्यस्तै प्रकृतिका अस्त्रहरुको प्रयोगपछि एमओएबीको बिकास गरिएको हो।

एलाबामामा रहेको एरोनटिक्स कम्पनी डाइनेटिक्सले सबैभन्दा पहिला एमओएबी बम बनाएको हो।