अमेरिकी बम हमलामा ३६ को मृत्यु

  • 14 एप्रिल 2017
afghanistan तस्वीर कपीराइट EPA

अफगान राष्ट्रपतिका प्रवक्ताका अनुसार मारिनेमा उक्त उग्रवादी समूहका एकजना कमाण्डर सेदिक यार पनि रहेका छन्।

अमेरिकीहरुले मदर अफ अल बम्स् अर्थात 'सबै बमहरुको आमा' भनेर नामांकरण गरेका उक्त शक्तिशाली बम प्रहारबाट झण्डै तीनसय मिटर लामो सुरुंगहरुको संजाल पनि नष्ट भएको ति प्रवक्ताले बताएका छन्।

अफगान रक्षा मन्त्रालयले उक्त सबैभन्दा शक्तिशाली गैर परमाणु बम विस्फोटबाट कोही पनि गैरसैनिक प्रभावित नभएको दावी गरेको छ।

भूतपूर्व अफगान राष्ट्रपति हमिद कारजईले उक्त हमलाको निन्दा गरेका छन्, उनले भने,"यो हाम्रो देशमाथि भएको अमानवीय र एकदमै क्रुर प्रकृतिको दुर्व्यवहार हो।"

सहकार्य

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले उक्त बम हमला आफ्नो सरकारसंगको सहकार्यमा गरिएको पुष्टि गर्दै गैरसैनिक हताहति हुन नदिनका लागि 'एकदमै ठूलो सावधानी' अपनाइएको बताएका छन्।

अफगान रक्षा मन्त्रालयले भनेको छ उक्त बम मोमान्ड उपत्यकामा रहेको एउटा ग्रामिण क्षेत्रमा खसालिएको थियो जहां आईएस लडाकुहरुले तीनसय मिटर लामो गुफाहरुको संजालको प्रयोग गर्ने गरेका थिए।

सो मन्त्रालयका अनुसार झण्डै ९,८०० किलोग्राम तौलको उक्त बम हमलाबाट उग्रवादीहरुको ठूलो अस्त्र भण्डार पनि नष्ट भएको छ।

तस्वीर कपीराइट Getty Images

सहि अस्त्र

नौ मिटर भन्दा लामो लम्बाई रहेको उक्त बम सन् २००३ मा पहिलो पल्ट परिक्षण गरिएको थियो र यसअघि कहिल्यै पनि युद्ध मोर्चामा प्रयोग भएको थिएन।

अफगानिस्तानस्थित अमेरिकी सैन्यका कमाण्डर जेनरल जन निकलसनले उक्त बम प्रहारलाई "सहि निशानाका लागि सहि अस्त्र" भनेका छन्।

रणनीतिक उद्देश्य हासिल गर्नका लागि त्यस्तो अस्त्र प्रयोग गर्ने अहिलेको समय पनि सहि भएकोमा उनले जोड दिए।