'म स्वस्थ, मेरो देश स्वस्थ' अभियान शुरु

  • 14 एप्रिल 2017

नयाँ वर्ष २०७४ को अवसर पारेर सरकारले शुक्रबारदेखि 'मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ' नारा सहित सार्वजनिक स्वास्थ्यको क्षेत्रमा नयाँ अभियान शुरु गरेको छ।

रक्सी चुरोट नखानेदेखि नियमित व्यायाम गर्ने समेतका ५ बुँदामा प्रधानमन्त्रीको प्रतिबद्धताका साथ शुरु गरिएको अभियानलाई विद्यालय तहसम्म पुराउने योजना रहेको स्वास्थ्य मन्त्री गगन थापाले बताए।

सरकारले दिने स्वास्थ्य सेवाको विस्तारसंगै सर्वसाधारणलाईपनि आफ्नो स्वास्थ्यप्रति सजग बनाउने अभियानको उदेश्य रहेको थापाको भनाइ छ।

जीवनशैली

जीवनशैलीमा आधारित रोगको असर दिन प्रतिदिन बढदै गएपछि त्यसलाई कम गर्न आम सर्वसाधारणलाई साथमा नलिएसम्म नहुने निष्कर्षपछि अभियान शुरु गरिएको सरकारी भनाइ छ।

अभियानको नारा 'मेरो वर्ष २०७४: म स्वस्थ, मेरो देश स्वस्थ' लेखिएको झण्डालाई एक औपचारिक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उचालेर अभियान शुरु भएको घोषणा गरिएको थियो।

अभियानलाई सफल बनाउन सर्वसाधारणलाइ ५ वटा प्रतिबद्धता पालन गर्न आग्रह गरिएको छ।

ती प्रतिबद्धतामा "म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्नँ, नियमित व्यायाम गर्छु, स्वस्थ पोषिलो खाना खान्छु, नियमित स्वास्थ्य परीक्षण गराउँछु अनि म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छौँ" भन्ने रहेका छन्।

प्रतिद्धता

प्रतिबद्धताका बारेमा सर्वसाधारणलाई चेतना जगाउने कामसँगै विद्यालयका विद्यार्थीलाई पनि लक्षित गरिने स्वास्थ्यमन्त्री थापाले बताए।

उनले भने " विद्यालयसँग साझेदारी गर्ने हाम्रो कार्यक्रम छ। जुन बच्चाबच्चीहरु अहिले विद्यालयमा छन् तिनीहरुलाई हामीले उठाएका ५ वटा विषयलाई नै जीवन पद्धति बनाउने गरी तयार पार्न सकियो भने हाम्रो पुस्ताले व्यहोरेको धेरै कुरा उनीहरुले व्यहोर्नु पर्दैन भन्ने छ।"

विभिन्न मन्त्रालय र गैरसरकारी संस्थाहरुसँग पनि साझेदारी गर्ने योजना स्वास्थ्य मन्त्रालयले बनाएको बताइएको छ।

प्रतिबद्धतामा उल्लेख गरिएको नियमित स्वास्थ्य परीक्षणको विषय सबैको पहुँचमा नरहेकाले उक्त सेवा देशभरकै स्वास्थ्य चौकीमा पुराउन लागिएको स्वास्थ्य मन्त्री थापाले बताए।

सेवा विस्तार

उनले भने, "यो वर्ष १ हजार ५३ वटा स्वास्थ्य चौकीमा जाँच गराउने सुविधा पुराउँदै छौं। बाँकीमा अर्को वर्षको असोजसम्म सबैमा पुराउछौं। सेवा विस्तार गर्ने काम हाम्रो हो, त्यो सेवा लिनु पर्छ भन्ने जनता जागरुक भए भने हाम्रो उद्देश्य पुरा हुन्छ।"

हरेक मानिसले दैनिक रुपमा गर्ने खानपिन समेत जोडिएको विषय भएकाले अभियानको सफलता उनीहरुले गर्ने व्यवहारमा भरपर्ने बताइएको छ।

तर स्वास्थ्य अनुसन्धान परिषदमा एउटा संयन्त्र बनाएर वार्षिक उपलब्धि मूल्याङकन गर्ने र आगामी वर्षमा त्यसलाई नीतिमै समावेश गर्ने व्यवस्था मिलाउने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।