श्रीलंकाःफोहोरले घर पुरिंदा १६ को मृत्यु

  • 15 एप्रिल 2017
पुरिँदा तस्वीर कपीराइट AFP

श्रीलंकामा फोहोरको थुप्रोले घरहरु पुरिंदा बालबालिकासहित कम्तीमा १६ जनाको ज्यान गएको छ।

९१ मिटर अग्लो फोहोरको थुप्रो बाढी र आगलागीका कारण सर्न पुगेको थियो र त्यसपछि शुक्रबार खसेको थियो।

फोहोरको थुप्रोको छेउमा रहेका कम्तीमा ४० वटा घर ध्वस्त भएका छन्।

मृतकमध्ये चारजना बालबालिका ११ देखि १५ वर्ष उमेरको भएको समाचारमा जनाइएको छ।

फोहोर थुपार्ने सो ठाउँको सुरक्षाबाट पहिल्यैदेखि चिन्ताहरु व्यक्त हुँदै आएका थिए।

उद्धार

स्थानीयबासिन्दाले त्यहाँबाट फोहोर हटाउनुपर्ने माग गर्दै आएका थिए।

समाचार संस्था एएफपीका अनुसार सो ठाउँमा दैनिक ८०० टन फोहोर फालिने गरेको छ।

सरकारले त्यसलाई अन्यत्र सार्ने योजना बनाएको बताइन्छ।

विपद्सम्बन्धी अधिकारीहरुले बीबीसीलाई बताए अनुसार फोहोरले पुरिएका घरहरुमा २० जनासम्म मानिसहरु हुन सक्ने अनुमान गरिएको छ र उनीहरुको उद्धार कार्यमा सेनाले समन्वय गरिरहेको छ।

फोहोरको थुप्रोमा आगो लागेपछि धेरै मानिसहरु घरबाट निस्किन नपाएकोले मृतकको संख्या बढ्न सक्ने एकजना अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

गत महिना इथियोपियाको राजधानी आदिस अबाबास्थित एउटा ल्याण्डफिल साइटमा पहिरो जाँदा कम्तीमा ११३ जनाको ज्यान गएको थियो।