टर्कीमा जनमत संग्रहअघि अन्तिम -याली

  • 15 एप्रिल 2017
सम्बोधन तस्वीर कपीराइट EPA

टर्कीमा ठूलो संवैधानिक परिवर्तनको प्रस्तावमाथि आइतबार हुन लागेको जनमत संग्रहअघि राष्ट्रपति रिजेप तय्यीप एर्दोआनले अन्तिम -यालीलाई सम्बोधन गरिरहेका छन्।

प्रस्तावित परिवर्तनले राष्ट्रपतिलाई महत्वपूर्ण अधिकार प्रदान गर्नेछ।

इस्तानबुलमा समर्थकहरुलाई सम्बोधन गर्दै एर्दोआनले टर्कीको संसदीय शासन व्यवस्थालाई कार्यकारी राष्ट्रपतिको व्यवस्थामा ढाल्ने प्रस्तावित परिवर्तनले देशलाई थप बलियो बनाउने बताए।

जनमत संग्रहको पक्षमा मतदान गरिए युरोपेली संघप्रतिको टर्कीको अडानलाई थप मजबुत तुल्याउने एर्दोआनले संकेत गरेका छन्।

अधिनायकवाद

उनले विजयी हुनेमा आफू विश्वस्त रहेको बताए।

मत सर्वेक्षणले पक्ष र विपक्षबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन्।

जनमत संग्रहबाट परिवर्तनका प्रस्ताव अनुमोदन भए राष्ट्रपति एर्दोआन सन् २०२९ सम्म सत्तामा रहन पाउनेछन्।

समर्थकहरुले पक्षमा नतिजा आए मुलुक आधुनिकतातर्फ बढ्ने बताएका छन् भने विपक्षीहरुले त्यसले देश क्रमशः अधिनायकवादतर्फ जाने तर्क गरेका छन्।

झण्डै सय वर्षअघि आधुनिक टर्की निर्माण भएयता आइतबार हुने जनमत संग्रहले टर्कीको शासन पद्धतिमा ठूलो परिवर्तन ल्याउनेछ।

नियन्त्रण

प्रधानमन्त्री पद रहने छैन भने राष्ट्रपतिले मन्त्रीहरु नियुक्त गर्नेछन् र कर्मचारीतन्त्र राष्ट्रपतिको नियन्त्रणमा आउनेछ।

एर्दोआनले कुर्दिश विद्रोह, इस्लामवादीहरुको लडाइँ र सिरियामा जारी द्वन्द्वका कारण शरणार्थीहरुको बढ्दो आगमनका बेला प्रस्ताव गरिएको नयाँ व्यवस्था फ्रान्स र अमेरिकाको जस्तै हुने र त्यसले स्थिरता ल्याउने बताएका छन्।

गत जुलाइमा सत्ता हत्याउन गरिएको विफल प्रयासपछि लागू भएको संकटकालमाझ जनमत संग्रह हुँदैछ।

त्यसयता सरकारले गरेका कारबाहीमा दशौं हजार मानिसलाई गिरफ्तार गरिएको छ।

एक दशकभन्दा बढी समय प्रधानमन्त्री रहेका एर्दोआनले सन् २०१४ मा ठूलो हदसम्म आलङ्कारिक रहेको राष्ट्रपति पद सम्हालेका थिए।