भवनाथ शर्मासंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भवनाथ शर्मासंगको कुराकानी

  • 20 एप्रिल 2017

९३ वर्षीय भवनाथ शर्मा प्राचीन र कठिन मानिने शास्त्रीय संगीतको स्वरप्रधान ध्रुपद शैलीका विज्ञ हुन्।

ध्रुपद अर्थात शास्त्रीय संगीतको एक प्राचीन विधाको इतिहास समेत अस्पष्ट रहेको यसका विज्ञहरु बताउँछन्।

सिक्न र गाउन कठिन मानिने यो विधाका गायक र विज्ञ पनि अत्यन्त थोरै संख्यामा रहेका छन्।

ती मध्ये एक हुन् नेपालका वरिष्ठ ध्रुपद संगीतज्ञ भवनाथ शर्मा।

काठमाण्डुमै जन्मेका शर्माले यज्ञनाथ शर्मा लगायत त्यसबेलाका ख्यातिप्राप्त संगीतज्ञहरुसंग नेपालमै शास्त्रीय संगीत सिकेको बताउँछन्।

ध्रुपदको विशेषता

ध्रुपदको सामान्य परिचय दिंदै उनी ध्रुवपदमा चार चरण हुने बताउँछन्: स्थायी, अन्तरा, संचारी, र आभोग।

स्वरप्रधान यो विधामा एउटै स्वरलाई निकै लामो समयसम्म तानेर गाइन्छ र ती चार चरण गाइसक्न घण्टौं पनि लाग्न सक्छ।

गायनशैलीमा कडा नियमहरु पालना गर्नुपर्ने हुनाले यस शैलीमा नयाँ गीतहरु पनि धेरै रचिंदैनन्। यो शैलीमा प्रचलित भजन र वीरगाथा मध्ये एक शर्माले गाएर सुनाए।

बजत मृदंग

झपझाँझ मुरली मुर्चंग

गम्भीर धुन

निरखत श्यामसंग

ग्वालसम हर्षददेव

नरनाग मुनि

बजत मृदंग

'सत्यमा आधारित'

"ध्रुपद सिक्न अलि कठिनै हुन्छ," उनी भन्छन, "नाभी स्थानबाट उठाउनुपर्छ। निकै बल लाग्छ। र संगीत सिकेर पारंगत हुन दश वर्ष भन्दा बढी लाग्छ।"

तर पनि शर्मालाई अरु संगीत पट्टि कहिल्यै रुची जागेन।

"ध्रुव भनेको सत्य, र पद भनेको शब्द," उनी भन्छन्, "अर्थात् ध्रुवपद भनेको सत्यमा आधारित संगीत।"

ध्रुपद बाहेक अन्य संगीतलाई सत्य मान्दैनन् उनी, र भन्छन्, "सत्यपट्टि नलागेर कोही असत्यपट्टि लाग्छ?"

आजकालको आधुनिक संगीतलाई त्यस्तै असत्य मान्छन् उनी।

"आजकालको रेडियोमा बज्ने गीत चुत्थो! ध्रुवपदको तुलनामा केही होइन। साहिंलाले साहिंलीलाई लग्यो वनको बाटो लालटिन बालेर। त्यस्तो झ्याउरे गीत पनि कहीं हुन्छ?"

संगीतप्रति निष्ठा

उनी ९३ वर्षको उमेरमा आफ्नो आवाजको शक्तिमा निकै गर्व गर्दछन्।

"आजकालका ठिटा हुन्छन् नि गीत गाउने नेपालका, मसंग सक्तैनन् उनीहरुले," गर्वका साथ गाउँदै भन्छन् उनी।

शर्मा भने आफ्नो संगीतमा आफैं आनन्द र मग्न भएर रहने र संगीत भएपछी केही नचाहिने बताउँछन्, यहाँसम्म कि लामो समयसम्म स्वयंपाक्य रहेका शर्माले विवाह पनि गरेनन् र कहिल्यै गर्ने रुची पनि राखेनन्।

"कहाँको ध्रुपद, कहाँको त्यो रसरंग। हामीलाई रसरंग काम छैन। विवाह गर्नेहरु धेरैजसो भाँडिएका छन्।

ध्रुपदियाले बिहा गर्यो भनेदेखि त नाद त कता जान्छ कता जान्छ! तागत नभइ हुँदैन!"

'पारमार्थ'को गायन

शर्मा भन्छन्, विवाह गर्नेतर्फ उनको कहिल्यै ध्यान गएन, किनकी उनको गायन 'पारमार्थ'को थियो।

गायनलाई स्तुती मान्ने शर्मा ईश्वर प्रकट गराउन स्तुती नै चाहिने बताउँछन्।

"भगवान खोज्नुपर्यो। भगवान कहाँ छ त? हृदयमा छ। आफ्नो आत्मासंगको सम्मीलन संगीतले दिन्छ। आफू एकान्तमा रहेर अध्ययन गर्नुपर्छ, अनि संगीतमै त्यो भगवान भेटिन्छ।"

शर्मा पशुपति लगायतका विभिन्न मन्दिरमा गएर भगवानका त्यस्ता स्तुतीगायन गर्ने गरेको सम्झन्छन्।

हराउँदै संगीत प्रचलन

अहिले आएर आफ्नो जीवन सम्झिँदा तिनै क्षणहरु याद आउने रहेछन् उनलाई।

हराउँदै गएका संगीतका प्रचलनहरु उनलाई भने याद रहेछन्।

माघ महिनाको माधवयात्रालाई त्यस्तै एक सुखद सम्झनाका रुपमा उनी सुनाउँछन्: "माघ महिनामा गाउँथे। खट पनि बनाउँथे, फारफुर झण्डा पनि हल्लाउँथे।

त्यसलाई माघे यात्रा भन्थे। काठमाण्डुमा पाटनमा सबतिर घुमाउँथे, आजकाल त्यो छैन। अनि त्यस्तो रमाइलो वातावरणमा म पनि परमेश्वरको नाम गाउँथें:

भज गोविन्द माधव सुन्दर श्याम

गोविन्द….

गोविन्द माधव

गोविन्द……..

गोविन्द माधव सुन्दर श्याम

'कदर भएन'

तत्कालीन राजा महेन्द्रलाई आफ्नो गान सुनाएको पनि सुखद सम्झना छ उनीसंग।

'कहाँ सिकेका रहेछन् यिनले, बडो राम्रो सिकेका रहेछन्', भन्ने राजाको वाक्य दोहोर्याउँछन्।

तर सरकारले गायकलाई वास्ता नगरेकोमा केही दुःखी पनि छन् उनी।

"यस्तो गायनलाई खुराक पनि चाहिन्छ, तर खोई कहिले कसैले वास्ता गरेन,"

शास्त्रीय संगीतको कदर गर्ने मान्छे चाहिं भएनन्, शास्त्रीय संगीतको कदर गरिदिने भए त गजब भइहालेको थियो नि!"

हुन त ध्रुपद गायनका पारखी र सिक्ने विद्यार्थीको कमीले पनि उनलाई दुःखी बनाउने रहेछ, तर ध्रुपद संगीतको समय फेरि आउनेमा उनी विश्वस्त छन्।

फर्केर हेर्दा

जीवनको उत्तरार्द्धमा आएर भने जीवन निकै आनन्दसंग बितेको जस्तो लाग्दोरहेछ उनलाई।

"शास्त्रीय संगीत गाउने मान्छेले बेफिक्रिमा रहनुपर्छ।

यत्तिकै हरिनाम जप्दाजप्दै, हुरुक्क, नारायण, हरि भन्दा भन्दै जान पाए हुन्थ्यो। आशा त्यही छ।"

भविष्यमा फेरि जन्मे पनि संगीतको साथ नछोड्ने आशा समेत उनमा रहेछ।

"जुन योनिमा जन्मे पनि संगीतलाई छोड्नु हुँदैन, किनकि संगीत परब्रह्म परमेश्वरमय जगत हो, संगीतद्वारा नै परमेश्वरलाई प्राप्त गर्न सकिन्छ।"