‘कांग्रेस दुई चरणमा चुनाव गर्न तयार’

  • 15 एप्रिल 2017
कार्यालय

दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले राजनीतिक सहमतिका निम्ति स्थानीय तहको चुनाव दुई चरणमा गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

दुई नम्बर प्रदेशका कांग्रेस नेताहरुले पार्टी नेतृत्वसँगको सामूहिक छलफलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनावमा सहभागी गराउन भन्दै त्यस्तो उपाय सुझाएका हुन्।

संविधान संशोधन विधेयक र निर्वाचन अस्वीकार गर्ने मोर्चाको निर्णयपछि आयोजित छलफलमा पार्टीका जिल्ला सभापति, सांसद र केन्द्रीय सदस्यहरु सहभागी थिए।

आफूहरुले दिएको सुझाव सुनाउँदै नेता फरमुल्लाह मन्सुर भन्छन्, "मधेशको समस्या सम्बोधन गरेर गराइने निर्वाचन शान्तिपूर्ण र त्यसमा सबैको सहभागिता हुन्छ। त्यसैले त्यसको निम्ति समय लाग्छ भने पनि मधेशका जिल्लामा दोश्रो चरणमा चुनाव गराउनुपर्छ।"

पहल

नयाँ विधेयक दर्ता गरिएपछि सत्तापक्ष र मोर्चाबीच औपचारिक छलफल हुन सकेको छैन।

नेताहरुले संवादका निम्ति पहल गर्न नेतृत्वको ध्यानाकर्षण गराएको बताइएको छ।

सप्तरीका कांग्रेस सांसद तेजुलाल चौधरीले भने, "दुई नम्बर प्रदेशमा मोर्चाको सहभागिता बिना चुनाव सम्भव छैन, त्यसैले उनीहरुलाई मनाएर एकै चरणमा भए अति उत्तम तर हुन नसकेमा दुई नम्बरमा मात्र नभई अरु प्रदेशमा पनि दुई चरणमा चुनाव गर्नुपर्छ भन्ने सबैको आग्रह थियो।"

पार्टी नेतृत्व पनि त्यसो गर्न तयार रहेको छलफलमा सहभागी नेताको भनाई छ।

सशर्त तयार

उनका अनुसार चुनाव हुनै पर्नेमा दृढ सुनिएको कांग्रेस पार्टी नेतृत्व पनि सशर्त दुई चरणमा चुनावमा जान तयार छ।

सांसद चौधरी भन्छन्, "पार्टी सभापति र महामन्त्री पनि मोर्चा सहमतिमा आउने र चुनावमा जाने सुनिश्चित भएमा दुई चरणमा जान सकिन्छ भन्नेमा हुनुहुन्थ्यो।"

निर्वाचन आयोगले पनि 'राष्ट्रिय राजनीतिलाई निकास दिन' आवश्यक परे दोश्रो चरणको चुनाव गर्न आफू तयार रहेको बताइसकेको छ।

अहिलेकै अवस्थामा चुनावमा सहभागी नहुने मोर्चाको अडानमाझ वैशाख ३१ गतेको चुनावमा उसको सहभागिता प्राविधिक रुपले पनि टाढिंदै गएको देखिन्छ।

त्यसैले पनि कांग्रेसमा देखिएको पछिल्लो परिदृष्यलाई कतिपयले चुनाव दुई चरणमा गर्ने पृष्ठभूमिको तयारीको संकेत ठानेका छन्।