'बजारमा मागभन्दा आधामात्रै पाठ्यपुस्तक'

  • 16 एप्रिल 2017
शिक्षा

नयाँ शैक्षिक सत्र शुरु भइसक्दा यस वर्ष पनि सरकारले छाप्ने पाठ्यपुस्तक सहज रुपमा बजारमा पाउने अवस्था नरहेको सरोकारवालाहरुले बताएका छन्।

पुस्तक छाप्ने सरकारी निकाय जनक शिक्षा सामाग्री केन्द्रले धमाधम पुस्तक छापेर वितरण गरिरहेको बताएको छ।

तर पुस्तक वितरकहरुले भने यही गतिमा पुस्तक छापिए सबै विद्यार्थीको हातमा किताब पुग्न अझै केही महिना लाग्ने जानकारी दिएका छन्।

किताबसँगै स्थानीय तहको चुनावका लागि मतपत्रपनि छाप्नुपरेपछि जनक शिक्षा सामाग्री केन्द्रमा दबाब परिरहेको छ।

मागको आधा

पुस्तक विक्रेताहरुका अनुसार पुस्तक छपाइमा गर्ने ढिलाइका कारण हरेक वर्ष आलोचना खेप्दै आएको जनक शिक्षा सामाग्री केन्द्र यस वर्ष पनि आलोचनाबाट मुक्त हुने कुनै सम्भावना देखिदैँन।

केन्द्रले यस वर्षका लागि करिब दुई करोड प्रति पुस्तक छाप्ने लक्ष्य लिएको बताइन्छ।

तर वितरकहरु भन्छन्, नयाँ शैक्षिक सत्र सुरु भइसक्दा केन्द्रले हालसम्म करिब ५० प्रतिशत अर्थात एक करोड प्रति मात्र पुस्तक छापिएको सूचना उनीहरुले पाएका छन्।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हरी अर्याल भन्छन्, "५० प्रतिशतमात्रै किताब उत्पादन भएको जानकारी हामीसँग छ, प्रतिदिन एक लाख किताब छाप्नुपर्ने जनक शिक्षा सामाग्री केन्द्रले अहिले दिनको २० हजार मात्रै किताब छापिरहेको हामीले बुझेका छौँ।"

पर्याप्त पुस्तक नपाएकाले वितरण प्रणालीमा असर देखिएको र अवस्था यस्तै रहे शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक पाउन गाह्रो हुने रुपन्देहीका पुस्तक वितरक खेमनारायण पराजुली बताउँछन्।

उनले भने, "१२/१३ हजार सेट चाहिने दश कक्षको किताबहरु जम्मा १२ सय सेट आएको छ, कक्षा छदेखि नौसम्मका लागि जम्मा तीन-तीन हजार सेट छुट्याइएको छ, यो हाम्रो जिल्लाको मागको तुलनामा नगण्य संख्या हो।"

बचाउ

जनक शिक्षा सामाग्री केन्द्रले पुस्तक छपाइको काम करिब दुई साताले ढिला भएको तर बजारमा किताबको अभाव नरहेको बताएको छ।

केन्द्रका महाप्रबन्धक महेश्वर प्रसाद तिमिल्सिनाले विद्यार्थीको हातमा समयमै पुस्तक पुग्ने दाबी गरे।

उनी भन्छन्, "१५-२० दिनले ढिला त भएका हौँ तर किताबको अभावै भएको अवस्था चाहिँ होइन।"

अहिले जनक शिक्षा सामाग्री केन्द्रले स्थानीय तहको निर्वाचनको लागि मतपत्र पनि छापिरहेको छ जसका कारण जनशक्तिको केही अभाव देखिएको महाप्रबन्धक तिमिल्सिना बताउँछन्।

केन्द्रले कक्षा छ देखि दशसम्मका सबै सरकारी पाठ्यपुस्तकहरु छाप्दै आएको छ।

कक्षा एकदेखि पाँचसम्मको पुस्तक छाप्ने काम भने निजी क्षेत्रलाई दिइएको छ।

विगतमा मतपत्र छाप्ने जस्ता काम आइनपर्दा पनि समयमा नै पुस्तक छापेर वितरण गर्न नसकेको आरोप जनक शिक्षा सामाग्री केन्द्रमाथि लाग्ने गरेको थियो।

पाठ्यपुस्तकको अभावलाई विद्यार्थीको भविष्यमाथीको खेलवाडका रुपमा लिने कयौँ अभिभावकहरुले जनक शिक्षा सामाग्री केन्द्रको विकल्पै खोजेर भएपनि समयमा नै किताब उपलब्ध गराउन सरकारसँग माग गर्न थालेका छन्।