जेठभित्रै फेरि उत्पादन शुरु: औषधि लिमिटेड

  • 16 एप्रिल 2017
औषधि

१२ वर्षदेखि उत्पादन बन्द गरेको नेपाल औषधि लिमिटेडले अबको दुई महिनाभित्रमा पुन: उत्पादन शुरु गर्ने अवस्थामा आफू पुगेको जनाएको छ।

यसअघि तीन महिनाभित्र औषधि उत्पादन गर्ने घोषणा गरेपनि छ महिना बितिसक्दा समेत काम नभएपछि सरकारको आलोचना हुन थालेको थियो।

सरकारी स्वामित्वमा रहेका आठवटा उद्योगहरु पुन: सञ्चालन गर्ने उद्योग मन्त्रालयको घोषणापछि औषधि लिमिटेडले पुनर्जीवन पाउने भएको हो।

प्रक्रिया

औषधिको गुणस्तर नियन्त्रणका लागि बोलपत्र स्वीकृत भइसकेको र सञ्चालनको अन्तर्राष्ट्रिय मापदण्डका लागि बोलपत्र आह्वान यसै हप्ता पूरा हुने औषधि लिमिटेडले जनाएको छ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले प्रक्रियागत जटिलताले गर्दा समय लम्बिन पुगेको बताए।

उनले भने, "विश्वव्यापी बोलपत्र आह्वान गर्नु अगाडि एक महिना त्यसको कार्यविधि बनाउनुपर्यो। त्यसपछि त्यो बोलपत्रका लागि ४५ दिन समय दिनुपर्यो र मूल्याङ्कन गर्नुपर्यो"।

"त्यसको लागि एक महिनासम्म लाग्ने भयो। अनि जसले टेण्डर पारेको छ, त्यसलाई एक, डेढ महिनाभित्र सामान ल्याएर राख भन्नुपर्यो। यही प्रक्रियाका कारण केही ढिलाइ भएको हो"।

उदयोग मन्त्रालयले वीरगञ्ज चिनी कारखाना, बुटवल धागो उद्योग, हेटौंडा कपडा उद्योगसहित सरकारी स्वामित्वमा रहेका अन्य सातवटा बन्द उद्योग निजी क्षेत्रको सहकार्यमा सञ्चालन गर्ने जनाएको छ।

योजना

जीवन जल उत्पादन गरेर औषधि उत्पादन थालिने लिमिटेडका प्रबन्ध निर्देशक रोवस कुसुम सुवेदी बताउँछन्।

उनले भने, "कम्तीमा जीवन जल बजारमा कसरी चाँडो आउँछ भनेर त्यसको योजना तयार गरेर त्यस अनुरुप काम गरिरहेका छौं। दुई महिनाभन्दा एक दिन चाँडो होला तर एकदिन पनि ढिलो चाहिँ हुँदैन"।

दुई महिनापछि क्रमश: अन्य औषधि पनि उत्पादन गरिने उनले बताए।

त्यसको लागि करिब १५ करोड रुपैयाँ ऋण सरकारबाट प्राप्त भएको र उत्पादन पूर्णत सरकारी लगानीमा हुने लिमिटेडले जनाएको छ।

मन्त्रालयले अरु उद्योगहरु सञ्चालन गर्नका लागि भने निजी सार्वजनिक साझेदारीको पूर्वयोजना अनुरुप लगानीकर्ता अझै फेला नपारेको बताइएको छ।