पूर्व राष्ट्रपतिविरुद्ध भ्रष्टाचार मुद्दा

  • 17 एप्रिल 2017
पार्क गुन-हे

महाभियोग लागेर पदमुक्त भएकी दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पाक गुन-हेविरुद्ध औपचारिक रुपमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अभियोजनकर्ताहरुका अनुसार उनलाई घुसखोरी, डरधम्की, पदको दुरुपयोग र राज्यको गोपनीयता भंग गरेको लगायतका अभियोग लगाइएको छ।

हाल हिरासतमा रहेकी ६५ वर्षीया पूर्व राष्ट्रपतिमाथि राजनीतिक सहयोगका नाममा ठूला कम्पनीहरुसंग रकम असुल्न आफ्नो नजिकको साथी च्वोए सुन शिललाई छुट दिएको आरोप लागेको छ।

दुवै महिलाले यी आरोप अस्वीकार गरेका छन्।

मदमुक्त

पार्कलाई गत महिना राष्ट्रपतिको पदबाट च्यूत गरिएको थियो।

उनीविरुद्ध महाभियोग लगाउन गत डिसेम्बरमा संसदले गरेको निर्णयलाई संवैधानिक अदालतले अनुमोदन गरेपछि उनले राष्ट्रपतीय उन्मुक्ति गुमाएकी थिइन् र उनलाई पदमुक्त गरिएको थियो।

च्वोएविरुद्ध राष्ट्रपतिसँगको सम्बन्धको दुरुपयोग गर्दै आफ्नो नियन्त्रणमा रहेका गैरनाफामुखी संस्थाहरुलाई करोडौं डलर दान दिन विभिन्न कम्पनीहरुलाई दबाब दिएको आरोप लागेको छ।

आरोप

पाकलाई यो प्रकरणमा व्यक्तिगत रुपमा नै संलग्न रहेको र च्वोएलाई सरकारी दस्तावेजहरुमाथि अस्वीकार्य तहसम्म नै पहुँच दिएको आरोप लागेको छ।

त्यस्ता कम्पनीमा देशकै सबैभन्दा ठूलो व्यापारिक समूह सामसँग पनि रहेको छ।

सामसँगका निमित्त प्रमुख लि जे योङ्ग र च्वोए अहिले पाकसंगै एउटा बन्दीगृहमा थुनामा छन् र मुद्दाको सुनुवाइको प्रतिक्षामा छन्।