अन्तरिक्षको प्रदूषण व्यवस्थापन चुनौतीपूर्ण

  • 18 एप्रिल 2017
अन्तरिक्ष तस्वीर कपीराइट European Space Agency

युरोपेली अन्तरिक्ष निकायको एउटा अध्ययनले अन्तरिक्षमा प्रक्षेपण गरिएका भूउपग्रहहरुको संख्या तीव्र रुपमा बढेकाले उनीहरु एक आपसमा ठोक्किएर ठूलो क्षति हुनसक्ने चेतावनी दिएको छ।

उक्त अध्ययनको नेतृत्व गरेका डाक्टर ह्यु लेभिसले भूउपग्रह निर्माणको लागत एकदमै कम हुन थालेकाले अर्को वर्षबाट अन्तरिक्षमा भूउपग्रहहरुको 'विशाल तारामण्डल' बन्ने अवस्था रहेको बताए।

विज्ञहरुका अनुसार अन्तरिक्ष हाल झन् झन् भिडभाडपूर्ण भइरहेको छ।

उनले भूउपग्रहको आकार सानो बनाउनुपर्ने र काम नलाग्ने भएका भूउपग्रहहरुलाई हटाउन मिसनहरु खटाउनुपर्नेमा जोड दिएका छन्।

एउटा अमेरिकी अन्तरिक्ष निगरानी सञ्जालले अन्तरिक्षमा तैरिरहेका झण्डै २३ हजार वटा टुक्राहरु एकदमै ठूलो रहेको जनाएको छ।

खतरा

तर धेरै त्यस्ता वस्तुहरुको व्यास भने चार इन्च भन्दा कम छ र तिनको अनुगमन गर्न पनि सकिंदैन।

तर ती साना हुँदैमा तिनबाट उत्पन्न हुन सक्ने खतरा भने साना नहुने बताइन्छ।

वैज्ञानिकहरुले कागजपत्रहरुलाई अड्काउन प्रयोग गरिने क्लिप आकारको टुक्राले पनि ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन्।

अन्तरिक्षको दीगो प्रयोगका लागि जोड दिइरहेको संस्था सेक्योर वर्ल्ड फाउन्डेसनका ब्रायन विडेनले भने, "अहिले हामीले एकदमै साना वस्तुहरुको त निगरानी पनि गरेका छैनौँ। भूउपग्रहमा ठोक्किंदा त्यस्ता वस्तुले समस्या निम्त्याउन सक्छन्।"

त्यसरि अन्तरिक्षमा जुध्ने सम्भावना एकदमै न्यून हुन्छ, तर अहिले जति पनि जुध्ने सम्भावना देखिन्छन् ती विगतमा भएका दुईवटा घटनाहरुबाट निस्केका भग्नावशेषहरुको परिणाम हुन्।

तस्वीर कपीराइट NASA

सन् २००७ मा व्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरी चीनले आफ्नो एउटा भूउपग्रह नष्ट गरेको थियो।

सन् २००९ मा अमेरिकाको एउटा सञ्चार सम्बन्धी व्यावसायिक भूउपग्रह रुसको एउटा मौसम सम्बन्धी जानकारी दिने बिग्रेको भूउपग्रहसँग ठोक्किएको थियो।

त्यसरी भूउपग्रहरुबाट बनेका फोहरका कारण सन् २०१७ मा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रको टोलीले सयुज नामक रकेटको उद्धार नै गर्नुपरेको थियो।

त्यसबेला कसैलाई क्षति नभएपनि पृथ्वीको कक्षमा जम्मा भएर बसेका त्यस्ता फोहोरहरु हटाउन कम्तीमा सयौँ, नत्र हजारौँ वर्ष लाग्न सक्ने ठानिएको छ।

कसरी सफा पार्ने?

वैज्ञानिकहरुले कसरी अन्तरिक्षलाई सफा बनाउने भनेर परीक्षणहरु गरिरहेका छन्।

अहिलेसम्म कुनै पनि त्यस्तो उपकरण निर्माण भइसकेको छैन र त्यस्ता फोहोर अझ सूक्ष्म ढंङ्गले टुक्रिने र पहिचान नै गर्न गाह्रो हुने जोखिम रहेको वैज्ञानिकहरु बताउँछन्।

अहिलेसम्म अन्तरिक्षमा झण्डै ७ हजार भूउपग्रह पठाइएको छ, जसमध्ये १५ सयमात्रै चालु हालतमा छन्।

आगामी दशकमा भूउपग्रहहरुले विशाल आकारको तारामण्डल जत्रै स्वरुप लिने सम्भावना छ किनभने उक्त संख्या बढेर १८ हजार पुग्न सक्छ।

विश्वव्यापी रुपमा इन्टरनेटको गुणस्तर र पहुँच विस्तार गर्न भन्दै ठूला ठूला भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरिएका छन्।

सेक्योर वर्ल्ड फाउन्डेसनका विडेन जस्ता वैज्ञानिकहरु त्यसरी थप भूउपग्रह प्रक्षेपण गरिंदा चुनौतीहरु अझ धेरै बढ्ने ठान्छन्।

अन्तरिक्षमा लगभग सबै जसो वस्तुको गति उसको उचाइको सापेक्षतामा एउटै हुने गर्छ।

विडेन भन्छन्, सबै चिज एउटै दिशातर्फ गइरहेका छन् भने खासै असर पर्दैन।

तस्वीर कपीराइट US Def Dept
Image caption अन्तरिक्ष निगरानी गर्ने टेलिस्कोप

अमेरिकी अन्तरिक्ष नियोग नासाको ट्राफिक हेर्ने निकायकी सदस्य लउरी निउमेन भन्छिन्, बाहिरी भाग मजबुत बनाउँदा भूउपग्रहहरुले एक सेन्टिमिटर भन्दा साना आकारका वस्तुबाट आफूलाई जोगाउन सक्छन्।

तर उनका अनुसार एक देखि १० सेन्टिमिटर सम्मका अरु वस्तु जसबारे पत्तै पाउन सकिंदैन त्यसले त्यस्ता भूउपग्रहहरुमा क्षति पुराउन सक्छ।

कसको जिम्मेवारी?

भूउपग्रह प्रविधि आधुनिक मानव जीवनका आधारभूत आवश्यकता जस्तै सञ्चार देखि जिपिएसको प्रयोग र मनपर्ने चलचित्रहरुको डाउनलोड गर्ने विषयसम्म जोडिएको छ।

राष्ट्रिय सुरक्षाका लागि त झन् यो महत्वपूर्ण हुने नै भयो।

कुनै पनि देश वा निकाय अन्तरिक्षको सुरक्षाका लागि एक्लै जिम्मेवार छैनन्।

संयुक्त राष्ट्रसंघले सन् १९५९ मा कमिटि अन पिसफुल युजेज अफ आउटर स्पेश (सिओपुयुओएस) गठन गरेको थियो।

त्यसमा अहिले ८५ वटा देशहरु छन् जसमा अन्तरिक्ष शक्ति राष्ट्रहरु जस्तै अमेरिका, रुस र चीन देखि लिएर एउटा पनि भूउपग्रह पठाउन नसकेका तर भूउपग्रह प्रविधिबाट सेवा लिइरहेका कोस्टारिकासम्मका देश छन्।

ती सबै देशहरुलाई सहमत गराएर अन्तरिक्षको प्रदूषण कम गर्नु निकै चुनौतिपूर्ण हुने ठानिएको छ।

धेरै देशहरु र व्यापारिक संस्थाहरुले पृथ्वीको कक्षमा आफ्ना गतिविधि बढाइरहँदा प्रदूषणको समस्या सम्बोधन गर्नुपर्ने विषय तत्कालको आवश्यकता नै बनिसकेको छ।

अब हात बाँधेर बस्छु भन्ने अवस्था नै छैन।