मेले आफ्नो अडान किन परिवर्तन गरिन्?

  • 18 एप्रिल 2017
सम्बोभन तस्वीर कपीराइट Reuters

"अर्को आमनिर्वाचन सन् २०२० मा हुनुपर्छ।"

यसअघि ब्रिटिश प्रधानमन्त्री टरिजा मेले सार्वजनिक रुपमा त्यस्तो अडान व्यक्त गर्ने गर्थिन् तर मंगलबार उनले आफ्नो राजनीतिक अडान फेरेकी छन्।

कैयौं महिनाअघि देखि नै मे र उनको टोलीले चाँडै निर्वाचन गराउने सम्भावनालाई नकारिरहेका थिए।

त्यसका कारणहरु सहज थिए।

प्रक्रिया

ब्रेक्जिटसम्बन्धी वार्ताका बेला उनीहरु कुनै अस्थिरता उत्पन्न गराउन नचाहेका थिए।

उनीहरु 'फिक्सड्-टर्म पार्लियामेन्ट एक्ट' भनिने निर्धारित समयमा नै निर्वाचन गरिनु पर्ने सम्बन्धी ऐनलाई छलेर अघि बढ्नका लागि आवश्यक प्राविधिक प्रक्रियामा जान चाहेनन्।

सँगसँगै उनीहरु पूर्वानुमान गर्न नसकिने चुनावी दौडमा सामेल हुन इच्छुक थिएनन्।

र, कन्जरभेटिभ पार्टीका धेरैलाई के विश्वास थियो भने सन् २०२० अगाडी नै विपक्षी लेबर पार्टीले आफ्नो अवस्थामा सुधार ल्याउने सम्भावना क्षीण छ।

त्यसैले त्यतिञ्जेलसम्म अहिले जसरी नै सरकार सञ्चालन गरेर अघि बढ्दा पनि चुनावमा ठूलो बहुमत हासिल गर्न सकिन्छ।

फेरि टरिजा मेमा आफू जे बोल्छु त्यो पूर्ण रुपमा पालना गर्छु भनेर देखाउने चाहना रहेको पनि हुनसक्छ।

तर ती सबै कुराहरुमा कायमै रहनुभन्दा वर्तमान राजनीतिक परिस्थिति अनुसार अडान परिवर्तन गर्नु प्रधानमन्त्रीलाई तर्कसंगत लागेको हुनुपर्छ।

अड्कलबाजी

सत्ताधारी कन्जरभेटिभ पार्टीका संसद्को पछाडिको बेञ्चमा बस्ने सांसदहरुसँग सरकारलाई विभिन्न मुद्दामा झुकाउन सक्ने शक्ति पनि सञ्चय हुन पुगेको अवस्था छ।

चुनावी अभियानहरु पूर्वानुमान गर्न नसकिने खालका पनि हुनसक्छन् तर वैचारिक मत सर्वेक्षणहरुले टोरी पार्टीको पक्षमा बहुमत देखाएका छन्, त्यसो भएमा प्रधानमन्त्री समक्षका राजनीतिक समस्याहरु बिलाएर जान सक्छन्।

ब्रिटेनमा प्रधानमन्त्रीहरु प्रत्यक्ष मतदानबाट निर्वाचित नहुने भएकाले, नयाँ निर्वाचनमा विजयी हुन सकेमा, आफूलाई ब्रेक्जिटसँग सम्बन्धित ब्रसल्स र वेस्टमिन्टरमा नै पनि हुने वार्ताहरुमा बलियो रुपमा प्रस्तुत हुन सहज हुने विश्वास पनि टरिजा मे ले लिएको हुनसक्छ।

तर जोखिमहरु पनि प्रशस्तै छन्।

यदि पछिल्ला वर्षहरुले केही देखाएका छन् भने त्यो हो यो अड्कलबाजी गर्न निकै कठिन राजनीतिक युग हो।

यो बिहानसम्म मन्त्रीहरुलाई समेत नयाँ निर्वाचन घोषणाको योजनाका बारे केही थाहा थिएन, त्यसैले निश्चित रुपमा के भन्न सकिन्छ भने टरिजा मेको बारेमा लख काट्न गाह्रो छ।