दिल्लीमा राष्ट्रपतिको उच्चस्तरीय भेट

  • 18 एप्रिल 2017
दिल्ली तस्वीर कपीराइट Nepali Embassy

भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्या देवी भण्डारीले मंगलबार नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता गरेकी छिन्।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति भण्डारीले भारतीय उपराष्ट्रपति हामिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग छुट्टा-छुट्टै भेटवार्ता गरिन्।

भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा राष्ट्रपति भण्डारी र भारतीय नेताहरुले जोड दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री मोदीले भारतको राष्ट्रपति भवनमा भण्डारीलाई स्वागत गरेका थिए।

सम्मान

राष्ट्रपति भवनमा भण्डारीलाई 'सम्मान गारद' प्रदान गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

सम्मान ग्रहणपछि संक्षिप्त कुरा गर्दै राष्ट्रपति भण्डारीले भनिन्, "मेरो भारत भ्रमण दुई देशको मित्रतालाई प्रगाढ बनाउन र नयाँ उचाईमा पुर्याउन सफल हुनेछ भन्ने मैले अपेक्षा गरेको छु।"

मंगलबार नै दिल्लीमा आयोजित भारतका व्यापारीहरुसँगको एउटा अन्तरक्रियामा राष्ट्रपति भण्डारी सहभागी भइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निजी क्षेत्रलाई नेपाल सरकारले विकासको साझेदारका रुपमा व्यवहार गर्ने गरेको र विभिन्न सहुलियत दिने गरेको उल्लेख गरिन्।

निम्तो

तस्वीर कपीराइट Nepali Embassy

नेपाली दूतावासका अनुसार मंगलबार बिहान राष्ट्रपति भण्डारीले दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिमा पुष्षागुच्छा अर्पण गरेकी थिइन्।

मंगलबार राति राष्ट्रपति भण्डारीको सम्मान भारतीय समकक्षी मुखर्जीले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछिन्।

मुखर्जीको निम्तोमा राष्ट्रपति भण्डारी सोमबार भारत भ्रमणमा गएकी हुन्।

पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार राष्ट्रपति भण्डारी स्वदेश फर्किनेछिन्।