‘हरेक चुनौती सामना गर्न सुरक्षा अंग तयार’

  • 18 एप्रिल 2017
आयोग

चार सुरक्षा निकायका प्रमुखले स्थानीय तहको चुनावको विपक्षमा हुने गतिविधिको सामना गर्न सकिने कुरामा प्रधानमन्त्रीलाई आश्वस्त तुल्याएको प्रधानमन्त्रीका एकजना सल्लाहकारले बताएका छन्।

चुनाव आउन महिना दिन पनि बाँकी नरहेका बेला प्रधानमन्त्रीले नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसँग संयुक्त रुपमा चुनावी सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

उनले निर्वाचन सर्ने कुनै सम्भावना नरहेको भन्दै सुरक्षा प्रमुखलाई सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको बताइएको छ।

मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले चुनावलाई बाधा पुग्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सम्भवत: उनी सुरक्षा प्रमुखसँग आश्वस्त हुन चाहेको हुनुपर्छ।

प्रतिबद्ध

छलफलका क्रममा सुरक्षा प्रमुखको धारणाबारे प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले भने, "सुरक्षा अंगका प्रमुखले चुनावको विपक्षमा रहेको मत मुख्य चुनौती रहेपनि सबै संयन्त्रलाई परिचालन गरेर चुनावको सफलताको पक्षमा वातावरण तयार गर्न सकिनेमा आश्वस्त बनाउनुभयो।"

चुनाव हुन नदिने चुनौती दिने गरेको संघीय गठबन्धनलाई सहमतिमा ल्याउन भन्दै सरकारले संविधान संशोधनको नयाँ विधेयक दर्ता गरे पनि मोर्चाले त्यसलाई अस्वीकार गरिदिएको छ।

छलफलमा प्रधानमन्त्रीले राजनीतिक सहमति अन्तिमसम्म पनि जारी राख्ने जानकारी गराएको बताइएको छ।

तर निर्धारित चुनाव नरोकिने भन्दै सुरक्षा निकायलाई सम्पूर्ण तयारी गर्न निर्देशन दिएको बताउँदै सल्लाहकार आचार्यले भने, "चुनाव जुनसुकै मूल्यमा गर्नुपर्छ। त्यसको निम्ति कुनै पनि कसर बाँकी नराख्नु भन्ने निर्देशन दिनु भयो।"

सत्तापक्षका नेताको प्रतिबद्धताले वैशाख ३१ गतेको चुनाव गर्न सरकार दृढ रहेको जनाउ दिन्छ।

तर संघीय गठबन्धनले चुनावमा सहभागी पनि नहुने र हुन पनि नदिने भन्दै आन्दोलन घोषणा गरेको छ।