फ्रान्समा दुईजना सन्दिग्ध इस्लामवादी पक्राउ

  • 18 एप्रिल 2017
Image caption फ्रान्सेली सुरक्षा फौजले दक्षिणी नगर मार्सेइमा छापा मारेका थिए

फ्रान्सेली सुरक्षा फौजले आइतबार हुने राष्ट्रपतीय चुनाव अघि आक्रमणको तयारी गरिरहेको आशंकामा दुईजना सन्दिग्ध इस्लामवादी विद्रोहीलाई पक्राउ गरेका छन्।

समाचारहरुमा जनाइएअनुसार दक्षिणी नगर मार्सेइमा प्रहरीले छापा मार्दा बम बनाउने रसायनहरु फेला परेको थियो।

चुनावअघि आक्रमणको सम्भावना रहेको सरकारी आँकलन भइरहँदा सन्दिग्ध आक्रमणकारीहरु पक्राउ परेका हुन्।

कैयौं दिनदेखि जारी खोजपछि २३ र २९ वर्षका सन्दिग्ध आक्रमणकारीलाई फ्रान्सको विशेष प्रहरी एवं गुप्तचर निकायका प्रतिनिधिले पक्राउ गरेका हुन्।

दुबैजना कैद सजाय भोग्नेक्रममा बन्दीगृह भित्रै अतिवादतर्फ आकर्षित भएको ठानिएको छ।

छापा

गोली र बम बनाउने सामग्रीहरु रहेको बताइएपछि मार्सेइ नगरको मध्यभागको एक भाडाको घरमा छापा मारिएको थियो।

फ्रान्सका आन्तरिक मन्त्री माट्यास फेकेलले पक्राउ परेका व्यक्तिहरुले के लाई निशाना बनाउन खोजेका थिए भन्ने प्रश्नको जवाफ दिएनन्।

तर उनले दुबै पुरुष फ्रान्सेली नागरिक भएको बताए।

उनले भने, "पक्राउ परेका व्यक्तिहरुले छोटो समयमै कारवाही गर्ने तयारी गरिरहेका थिए। अर्को शब्दमा भन्नु पर्दा उनीहरुले आउने केही दिनमै फ्रान्सेली भूमिमा आक्रमणको तयारी गरिरहेका थिए।"

संकटकाल

श्रृङ्खलाबद्ध हमलाहरुमा २३० जनाको ज्यान गएको फ्रान्स अहिलेपनि संकटकालमा छ।

फ्रान्सको आन्तरिक गुप्तचर निकायले पक्राउ परेका सन्दिग्ध आक्रमणकारीले चुनावको छेकोमा आक्रमणको तयारी गरिरहेको निश्कर्ष निकालेको छ।

फ्रान्समा एप्रिल २३ तारिखमा हुने पहिलो चरणको राष्ट्रपतीय चुनावमा ११ जना उम्मेदवारहरु मैदानमा रहनेछन्।

त्यसपछि धेरै मत पाउने दुई जना उम्मेदवारहरुबीच मे ७ तारिखमा अर्को चुनाव हुने कार्यक्रम छ।