‘मोर्चा आए स्थानीय चुनाव दुई चरणमा’

  • 18 एप्रिल 2017
शेरबहादुर देउवाले
Image caption शेरबहादुर देउवाले झापाको मञ्चबाट बोल्दै असन्तुष्ट मोर्चालाई चुनावमा भाग लिन घच्घच्याएका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई-केन्द्रित दलहरुले स्थानीय चुनावमा भाग लिने प्रतिवद्धता व्यक्त गरे दुई चरणमा भए पनि चुनाव गराउन आफ्नो पार्टी तयार रहेको सार्वजनिक रुपमै बताएका छन्।

मंगलबार झापामा पार्टीको आमसभामा बोल्दै कांग्रेसका अन्य शीर्ष नेताहरुले पनि देउवाको कुरामा सहमति जनाएका थिए।

प्रदेश-स्तरीय चुनावी आमसभाहरुको समापनमा कांग्रेसका शीर्ष नेताहरु झापा पुगेका थिए।

देउवाले आफ्ना पार्टीका कार्यकर्तामाझ तराई-केन्द्रित दलहरुले स्थानीय तहको चुनावमा भाग लिने वचन दिए दुई चरणमा चुनाव गर्न आफ्नो पार्टी तयार रहेको बताए।

उनले भने, "तराई-केन्द्रित दलहरुबाट स्थानीय चुनावमा भाग लिने भरपर्दो प्रतिवद्धता आउँछ भने कांग्रेस दुई चरणमा चुनाव गराउन तयार छ।"

'भरपर्दो'

तर तराई-केन्द्रित दलहरुबाट चुनावमा भाग लिने भरपर्दो प्रतिवद्धता आउनुपर्ने उनको भनाइ थियो।

तराईका जनताले अझ बढी चुनाव चाहेको दावी गर्दै देउवाले भने, "उहाँहरुले चुनावमा भाग नै नलिने बताउने हो भने हामीलाई त्यो मान्य हुने छैन।" "अहिले देश चुनावमय भएको छ। सबभन्दा बढी चुनाव मधेशका जनताले चाहेका छन्।"

कांग्रेस सभापति देउवाले क्षेत्रगत राजनीतिले कहिले पनि देशलाई भलो नहुने भन्दै सहमतिमै चुनाव गराउनु पर्ने बताए।

देउवाले मधेशकै हितका लागि संबिधान संशोधनको प्रस्ताव ल्याएकोले स्थानीय तहको चुनाव सहभागी हुन तराई केन्द्रित दलहरुलाई आग्रह समेत गरे।

उनको दुई चरणमा चुनाव गराउने कुरामा पार्टीका अन्य शीर्षहरु पनि सहमत देखिएका थिए।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, "उहाँहरु सहमतिमा आउनुहुन्छ भनेर दुई चरणमा चुनाव गराउने कुरा गरिरहेका छौं। तर उहाँहरु आन्दोलन भन्नुहुन्छ। चुनाव बहिष्कार भन्नुहुन्छ।"

महामन्त्री सशांक कोइराला लगायतले तराई-केन्द्रित दलहरु लगायत सबैलाई समेटेर चुनाव गराउनुपर्नेमा जोड दिएका थिए।