बीजेपी नेतामाथि आपराधिक मुद्दा चलाइने

  • 19 एप्रिल 2017
मस्जिद तस्वीर कपीराइट AFP

भारतको सर्वोच्च अदालतले १८ औं शताब्दीको एउटा मस्जिद भत्काइएको घटनामा सत्तारुढ बीजेपी पार्टीका थुप्रै वरिष्ठ नेतामाथि आपराधिक षड्यन्त्रको मुद्दा चलाउन आदेश दिएको छ।

अदालतको पछिल्लो आदेश बीजेपीका पूर्व प्रमुख तथा पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणी र अहिले मन्त्री रहेकी उमा भारतीसहितका नेतालाई ठूलो झटका भएको बताइएको छ।

सर्वोच्च अदालतले द्रुत गतिमा मुद्दाको सुनुवाइ गर्न र दुई वर्षभित्र टुंगो लगाउन भनेको छ।

उनीहरु सबैले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन्।

आरोप

यसअघि लखनऊको विशेष सीबीआइ न्यायाधीश श्रीकान्त शुक्लले सन् २००१ मा बीजेपीका वरिष्ठ नेताहरुमाथिको आपराधिक षड्यन्त्रको आरोप खारेज गरिदिएको थियो।

सन् १९९२ मा अयोध्यास्थित बाबरी मस्जिद भत्काइएको थियो र त्यसपछि भएको हिन्दु-मुस्लिम दंगामा झण्डै दुई हजार मानिसको ज्यान गएको थियो।

यी नेतामाथि आपराधिक षड्यन्त्रको आरोप लागेको थियो जसमध्ये कतिपयको मृत्यु भइसकेको छ र उनीहरुमाथि मुद्दा चलाइने छैन।

लालकृष्ण आडवाणीः बीजेपीका संस्थापकहरुमध्येको एक आडवाणीले सन् १९९१ मा गुजरातस्थित सोमनाथ मन्दिरबाट एउटा रथयात्रा निकालेका थिए।

तस्वीर कपीराइट PTI

त्यसपछि बाबरी मस्जिदलाई लिएर आन्दोलन चर्किएको थियो।

अटल बिहारी बाजपेयी नेतृत्वको सरकारले आडवाणीलाई गृहमन्त्री बनाएको थियो।

मुरली मनोहर जोशीः अटल बिहारी बाजपेयीको सरकारमा मानव संशाधन विकासमन्त्री रहिसकेका छन्।

तस्वीर कपीराइट PIB

उमा भारतीः मध्यप्रदेशकी पूर्व मुख्यमन्त्री उमा भारतीमाथि पनि बाबरी मस्जिद भत्काइएको घटनामा आपराधिक षड्यन्त्रको मुद्दा चलाइने छ।

उनी हाल मोदी नेतृत्वको सरकारमा केन्द्रीय मन्त्री छिन्।

कल्याण सिंहः बाबरी मस्जिद भत्काइएको बेला उत्तर प्रदेशमा कल्याण सिंह नेतृत्वमा बीजेपीको सरकार थियो।

उनी हाल राजस्थानको राजपाल छन्।

तर सर्वोच्च अदालतले राज्यपाल भएका बेला उनीमाथि मुद्दा चलाउन नमिल्ने स्पष्ट पारेको छ।

बाल ठाकरेः उग्र हिन्दुवादी राजनीतिक दल शिव सेनाका संस्थापक बाल ठाकरेको नाम पनि आपराधिक षड्यन्त्रमा संलग्नहरुको सूचीमा सामेल छ। तर सन् २०१२ मा निधन भइसकेकोले उनीमाथि मुद्दा चलाइने छैन।

विनय कटियारः उनी उत्तरप्रदेशको फैजाबादका हुन्। अहिले उनी राज्यसभाका सदस्य छन्।

अशोक सिंघलः राष्ट्रिय स्वयंसेवक दलको संगठन विश्व हिन्दु परिषद्ले रामजन्मभूमि आन्दोलनमा उनको महत्वपूर्ण भूमिका थियो।

सन् २०१५ मा उनको निधन भइसकेकोले आरोपितको सूचीबाट उनको नाम हटाइएको छ।

महन्त अवैद्यनाथः गोरखपुरको गोरखनाथ मन्दिरका पूर्व महन्त अवैद्यनाथ रामजन्मभूमि आन्दोलनका प्रमुख नेता थिए।

उनी युपीका वर्तमान मुख्यमन्त्री आदित्यनाथ योगीका गुरु थिए।

सन् २०१४ मा उनको निधन भइसकेको छ।

गरिराज किशोरः सन् २०१४ मा निधन भइसकेको किशोर तत्कालीन समयमा विश्व हिन्दु परिषद्का वरिष्ठ नेता थिए।

महंत नृत्यगोपालः उनी रामजन्मभूमि न्यासका अध्यक्ष हुन्।

त्यसबाहेक साध्वी ऋतम्भरा, आरएसएस नेता चंपत राय, भाजपा नेता सतीश प्रधान, महामण्डलेश्वर जगदीश गुप्त, सीआर बंसल, बीजेपीका पूर्व सांसद रामविलास वेदान्ति, बैकुण्ठ शर्मा, डाक्टर सतीशकुमार नागरमाथि मुद्दा चलाइनेछ।

महन्त रामचन्द्र दास, मोरेश्वर साबे, परमहंस रामचन्द्रदासको चाहिँ निधन भइसकेको छ।