‘कंगोमा नयाँ १७ वटा सामूहिक चिहान फेला’

  • 19 एप्रिल 2017
संघर्ष तस्वीर कपीराइट Getty Images

संयुक्त राष्ट्रसंघले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा आफ्ना मानवअधिकार अनुसन्धानकर्ताहरुले कम्तीमा १७ वटा नयाँ सामूहिक चिहान फेला पारेको जनाएको छ।

कंगोको सेनाले कसाई केन्द्रीय प्रान्तमा ७० जनाभन्दा बढी मानिसहरुलाई मारेपछि चिहानमा गाडेको आफूहरुलाई बताइएको अनुसन्धानकर्ताले बताएका छन्।

मारिएका ७० जनामध्ये १३ जना बालबालिका थिए।

योसँगै गत अगस्ट महिनादेखि संयुक्त राष्ट्रसंघले कंगोमा फेला पारेको सामूहिक चिहानको संख्या ४० पुगेको छ।

संघर्ष

सो क्षेत्रमा सरकारी फौज र एउटा लडाकु समूहबीच संघर्ष हुँदै आएको छ।

लडाकु समूहले बालबालिकालाई सेनाको रुपमा भर्ती गर्दै आएको र सरकारसँग सम्बन्धित जो कसैमाथि पनि आक्रमण गर्दै आएको बताइन्छ।

अनुसन्धानमा खटिएका दुईजना राष्ट्रसंघीय विज्ञहरुको गत महिना अपहरण गरी हत्या गरिएको थियो।

कंगोमा प्रत्यक्ष रुपमा युद्धका कारण वा रोग र कुपोषणका कारण हालसम्म ६० लाख मानिसले ज्यान गुमाएको बताइन्छ।