मोर्चा आए दुई चरणमा चुनावःसत्तारुढ दल

  • 19 एप्रिल 2017
आयोग

आन्दोलनरत मधेशी मोर्चासहितको संघीय गठबन्धन निर्वाचनमा आउन तयार भए आसन्न स्थानीय चुनाव दुई चरणमा गराउन सकिनेमा सत्तारुढ दलहरु सहमत भएका छन्।

त्यसमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले तत्कालै सहमति नजनाएपनि असन्तुष्ट दलहरु चुनावमा सामेल हुने अवस्था आए सरकारलाई सघाउन सक्ने उसले संकेत गरेको छ।

निर्वाचनको तयारी सँगसँगै आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने प्रयास चाहिँ जारी राखिने बैठकमा सहभागी पाँच दलका नेताले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादी केन्द्रसहित सत्ता साझेदार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्षस्थ नेतालाई चुनाव केन्द्रित छलफलका लागि डाकेका थिए।

प्रयास

बैठकमा सहभागी नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले जारी चुनावी प्रक्रिया र खासगरी असन्तुष्ट तराई केन्द्रित दलहरुलाई निर्वाचनमा सामेल गराउन सरकारले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए।

छलफलको निष्कर्षबारे बैठकमा सहभागी माओवादी केन्द्रका नेता समेत रहेका ऊर्जामन्त्री जनार्दन शर्माले भने, "एक-दुई दिनमा उहाँहरुसँग छलफल गरेर उहाँहरुलाई ल्याउने प्रयत्न गर्ने र उहाँहरु आएमा समय चाहिएको ठाउँमा दोस्रो चरणमा गर्न सकिन्छ। तर ३१ गतेको निर्वाचन अगाडि बढ्छ।"

बैठकमा सहभागी राप्रपाका नेता तथा आपूर्तिमन्त्री दिपक बोहराका अनुसार दुई चरणमा चुनाव गराउन सकिने प्रधानमन्त्रीको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताले चाहिँ तुरुन्तै सहमति जनाएजस्तो देखिएन।

यद्यपि सहमतिको वातावरण बने त्यसमा एमाले पनि सहमत हुनेमा सत्तारुढ दलहरुको विश्वास छ।

मन्त्री बोहराले भने, "जब देशमा शान्तिपूर्वक चुनाव हुने वातावरण बन्छ भने ३१ गतेको निर्वाचन हुने गरी दुई चरणको मतदानका लागि अन्त्यमा एमाले पनि सहमत हुन्छ भने मलाई लाग्छ।"

सहमतिको प्रयास जारी राख्दै निर्वाचन एक चरणमै सम्पन्न गर्नुपर्नेमा एमालेको जोड थियो।

सकारात्मक

तर आन्दोलनरत पक्ष सहमतिमा आएको खण्डमा सरकारलाई सहयोग गर्न आफ्नो दल तयार रहेको बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।

उनले भने, "तपाईंहरु उहाँहरुसँग छलफल गर्नुस्, उहाँहरु के कुरामा कसरी सकारात्मक हुनुभयो हामीलाई जानकारी गराउनुस्। हामीसँग छलफल गर्नुस्। हामी त्यतिबेला सकारात्मक ढंगले तपाईंहरुलाई सहयोग गर्छौँ।"

विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको धारणा चाहिँ केही फरक थियो।

सो पार्टीका नेता रामजनम चौधरीले भने, "चुनाव हामी एकै चरणमा गराऔँ तर राजनीतिक वातावरण बनाएर गरौँ। बरु ३१ गतेको सट्टा अर्को मिति तोकौँ।"

यथास्थितिमा चुनावमा सहभागी नहुने भन्दै मोर्चासहितको गठबन्धनले चुनाव लक्षित विरोधका कार्यक्रम समेत घोषणा गरिसकेको छ।

तर प्रमुख दलबीचको पछिल्लो सहमतिले दुई चरणमा मतदान हुने सम्भावना प्रबल हुँदै गएको देखिन्छ।