देशभर साढे १८ हजार मतदान केन्द्र

  • 19 एप्रिल 2017
आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि देशभर हुने मतदान केन्द्र र मतदान स्थलको टुंगो लगाएको छ।

वैशाख ३१ गते हुने निर्वाचनमा १८ हजारभन्दा बढी मतदान केन्द्रमार्फत मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको आयोगका अधिकारीहरुले बताएका छन्।

जिल्ला निर्वाचन कार्यालय खोलिसकेको आयोगले १२ गते ७४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने व्यवस्था समेत मिलाइएको जनाएको छ।

सरकारले स्थानीय तहको घोषणा गर्दा तोकिएका स्थानीय तहको वडाको संरचना लगायत देखिएका प्राविधिक त्रुटि सच्चाएर अन्तिम प्रतिवेदन आयोगलाई दिएसँगै मतदान स्थल र मतदान केन्द्र तोक्ने काम सकिएको आयोगले जनाएको छ।

संयन्त्र

७४४ वटा स्थानीय तहमा निर्वाचन गर्नका लागि १० हजार ६४० वटा मतदान स्थलमा १८ हजार ५७२ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ।

जिल्ला राजनीतिक सहमति गरेर आएका प्रतिवेदनका आधारमै त्यस्तै निर्णय गरिएको र तराईका कतिपय जिल्लामा आयोगको संयन्त्रमार्फत गर्नुपरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।

उनले भने, "राजनीतिक दलको सहमति नभएपनि निर्वाचनको कार्यविधि अनुसार समिति हुन्छ। त्यो समितिले जिल्ला निर्वाचन अधिकारीलाई पनि त्यो अधिकार दिएको हुन्छ। उसले सल्लाह गरेर पठाएको प्रतिवेदनका आधारमा हामीले कार्य सम्पादन गरेको हो।"

आयोगका अनुसार सबैभन्दा बढी ६८६ मतदान केन्द्र काठमाण्डूमा र ६६९ मतदान केन्द्र मोरङमा हुने छन।

त्यस्तै सबैभन्दा कम २८ वटा मतदान केन्द्र मनाङमा र ३७ वटा मुस्ताङमा तोकिएका छन्।

तालिम

तोकिएका मतदान स्थलमा एउटादेखि तीनवटासम्म मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेदेखि निर्वाचन चिन्ह दिने कामका लागि ७४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय छिट्टै खोलिने आयोगका प्रवक्ता शर्माले बताए।

उनले भने, "१२ गते सबैठाँउमा निर्वाचन अधिकृतको कार्यालय खोलेर निर्वाचनका काम त्यहाँ सञ्चालन हुँदै गर्छ। त्यसबीचमा मतदान अधिकृत लगायतका कर्मचारीलाई तालिम दिएर २७ गते मतदान केन्द्रमा पुग्ने गरी पठाउँछौं।"

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नियुक्तिको काम पहिले नै सकेको आयोगले उनीहरुका लागि तालिम समेत गरिसकेको छ।

हाल २१ हजार स्वयंसेवकमार्फत मतदाता शिक्षाको अभियान चलाइरहेको आयोगले निर्वाचन प्रकृया र मतदान प्रक्रियाका लागि आवश्यक पर्ने सामाग्री पनि खरिद गर्ने र जिल्लामा पठाउने काम गरिरहेको जनाएको छ।