शान्तदास मानन्धरसंग कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

शान्तदास मानन्धरसंग कुराकानी

  • 21 एप्रिल 2017

छ दशक देखि निरन्तर बालसाहित्यमा सकृय लेखक शान्तदास मानन्धर ८४ वर्षको उमेरमा पनि बालापनकै जोशका साथ श्रृजनामा लागिरहेका देखिन्छन्।

तर जब मानन्धरले बालसाहित्यमा हात हालेका थिए, त्यस समयमा भने नेपालमा बालसाहित्यको नाम निशान थिएन।

"त्यसबेला बालबालिकाका लागि साहित्य लेख्ने कोही थिएन, मात्र लक्ष्मीप्रसाद देवकोटा थिए।

उनले लेखेको बालसाहित्य पनि बालसाहित्य जस्तो थिएन, तर उनमा बालबालिकाका लागि लेख्छु भन्ने चाहिं थियो," उनी राणाशासनको समय त्यसरी सम्झन्छन्।

शुरुवात

आफू भने बालबालिकालाई पढाउँदा पढाउँदै बालसाहित्यमा हात हालेको उनी बताउँछन्।

"उनीहरुलाई सिकाउँदा उनीहरु कत्ति खुशी हुन्छन्। अनि त्यसरी खुशी भएको देख्दा सिकाउन मन लाग्दैन त?" उनले भने।

"कमसेकम ६० वर्ष अगाडिको कुरा हो। म एउटा विद्यालयमा पढाउँथें, जहाँ हरेक हप्ता शुक्रबार हामी बालबालिकासंग रमाइलो गर्थ्यौं।

गीत गाउँथ्यौं, कथा सुनाउँथ्यौं, नाच पनि नाच्थ्यौं!

र त्यसो गर्दागर्दै मैले एउटा भित्तेपत्रिका निकालें, तारा भन्ने। बालबालिका त तारा हुन् नि!"

बालसाहित्यको कोटिमा पञ्चतन्त्र, भजनहरु र पाठ्यपुस्तक जस्ता उपदेशात्मक सामग्री मात्र रहेको समयमा त्यस पत्रिकामा बालसुलभ गीत कथा र हँस्यौलीहरु रहेको उनले बताए।

एकल प्रयास

त्यस भित्ते पत्रिकाबाट बालसाहित्य श्रृजना शुरु गरेका मानन्धरले करीब ४० वर्ष अघि 'बालकोसेली' नामक पत्रिका प्रकाशन गर्न चालेका थिए।

हालसम्म त्यस पत्रिकाका ८८ अंक प्रकाशित भइसकेका छन्। तर बालसाहित्य लेख्न र लेखाउन सजिलो भने नभएको उनको अनुभव छ।

"पुस्तक पसलमा लगेर दियो भने पनि त्यति चल्दैन। अनि म स्कुल, स्कुलमा गएर किताब बेच्थें, हकर भएर।"

लेखन र अनुवाद गरेर ६० भन्दा बढी बालसाहित्यका पुस्तक प्रकाशन गरेका मानन्धर त्यस्ता पुस्तकमा धेरै चित्र आफैं बनाउँछन्, र प्रकाशन र वितरण पनि अझै आफैं गर्दछन्।

शुरुवातमा मानिसहरुले आफूलाई मुर्ख भनेको उनी सम्झन्छन्। "मान्छेहरु भन्थेः यो त मान्छे मुर्ख हो, केटाकेटीको कुरा गरेर हिंड्छ।"

बालबालिकालाई सम्मान

पुस्तक बिकाउन मात्रै होइन बालसाहित्यको नयाँ क्षेत्रमा हरेक कदममा संघर्ष गर्नुपरेको उनी सम्झन्छन्।

"बालबालिकालाई तपाईं भन्न र भनाउन समेत ठूलो संघर्ष थियो," उनी बताउँछन्।

"त्यतिबेला बालबालिकालाई तँ, अथवा धेरै भए तिमी, भनेर सम्बोधन गर्ने चलन थियो।

मैले एकदिन सगरमाथा रेडियोको बालकार्यक्रममा उनीहरुलाई तपाईं भनें। भाइबहिनीहरु पनि खुशी भए।

धेरैले त्यसको विरोध पनि गरे। तर मैले भनें, उनीहरु मभन्दा शुद्ध छन्, पवित्र छन्।

अनि म शुद्ध मानिसलाई किन तपाईं नभन्ने? बरु मैले त्यसरी सम्मान गरें भने वहाँहरुबाट गल्ती हुँदै हुँदैन भविष्यमा।"

अभिभावकको धारणा

र अर्को ठूलो संघर्ष थियो, शिक्षक र अभिभावकमाझ पाठ्यपुस्तक र बालसाहित्यको भेद स्थापित गराउने।

"जाँच दिन पढेपछि सबभन्दा राम्रो बालसाहित्य पनि केही न केहीको हुन्छ। बालसाहित्यको रस पाठ्यपुस्तकबाट पाउन सकिंदैन। बालबालिकाले त्यसबाट आनन्द लिन सक्दैनन्।

र अझै पनि बालसाहित्य किन आवश्यक छ भनेर कतिपय अभिभावकलाई बुझाउनै नसकेको अवस्था छ।"

आवश्यकता

त्यसोभए बालबालिकालाई साहित्य नै किन आवश्यक छ र?

मानन्धरका विचारमा अरुलाई साहित्यको खुराक जुन कारणले आवश्यक छ, बालबालिकाका लागि पनि त्यही कारणले आवश्यक छ।

"एउटा जीवनको लागि आवश्यक जति कुरा खानामा छ, त्यो भन्दा बढी साहित्यमा छ।

बरु हामीसंग त विगतका धेरै सामग्री छन्, तर भर्खर भर्खर संसार चिन्दै गरेका बालबालिकासंग ती छैनन्।

त्यसैकारणले उनीहरुलाई सक्दो धेरै समग्री आवश्यक छ। अहिल्यै चाहियो। धेरै चाहियो। किसिम किसिमको चाहियो!"

बालबालिकालाई साहित्यमार्फत समाजका राम्रा कुराहरु चिनाउनुपर्ने उनी बताउँछन्।

"सबभन्दा ठूलो कुरा त पुरानो संसारको माया उनीहरुमा जगाउनुपर्यो।"

बालसाहित्य कस्तो?

त्यसो भन्दैमा बालसाहित्यमा सबैकुरा राम्रो मात्रै हुन्छ भन्ने पनि मान्दैनन् उनी, भन्छन्: बालबालिकालाई नराम्रो कुरा साहित्यमार्फत चिनाउनु पनि राम्रो हो, उनीहरुको ज्ञान बढ्छ।

बालसाहित्य लेख्नका लागि भने बालबालिकाकै सामु गएर उनीहरुको रुची बुझ्नैपर्ने उनको जोड छ।

"नापो लिनु पर्यो। अनि पो ठिक्कको लुगा सिलाउन सक्नुहुन्छ। बालबालिकालाई के मनपर्छ त्यो बुझ्दै नबुझी तपाईं कसरी उनीहरुका लागि लेख्न सक्नुहुन्छ?"

आफ्नो 'टिकटिके किरा' भन्ने कविता सम्झिंदै उनी भन्छनः "त्यो कविताको विषय मैले बालबालिकाबाटै पाएको हुँ।

मैले एकदिन उनीहरुसंग भेटेर भनें: लौ न लौ तपाईंहरुलाई मन पर्ने कुरा बोर्डमा लेखिदिनोस्।

अनि उनीहरुले पनि लेखेः टिकटिके किरा भनेर। त्यसैबाट मैले गीत बनाएँ।"

लय हालेर उनी गाउँछनः

टिकटिके किरा

टिकै टिका

कति टिका

धेरै टिका

ठूलो हो

सानो किरा

पाटे हो

गोलो किरा

कस्तो राम्रो

जीउभरी टिका

कसरी लायो

आफैंले लायो

मलाई नि देउ

एउटा टिका

म पनि लाउँछु

एउटा टिका

जीउभरी हो

निधारमा टिका

कालो हो

रातो टिका

हालको अवस्था

बालसाहित्यको श्रृजना नगण्य रहेको अवस्था देखि आज ठूलो संख्यामा बालबालिकाका लागि विशेष सचित्र पुस्तक प्रकाशन हुने समयसम्म सकृय रहेका मानन्धरले बालसाहित्यका आरोह अवरोहलाई नजीकबाट नियालेका छन्।

आफूले काम गर्न थालेको समयको तुलनामा अहिले बालसाहित्यको संख्यामा धेरै परिवर्तन आएको उनी ठान्छन्।

"हलुवाई पसल नभएको ठाउँमा चार पाँच वटा हलुवाई पसल खुलेजस्तो भयो। तर ती पसल शुद्ध हुनुपर्यो, स्वस्थकर हुनुपर्यो, त्यो सबै कुरा हुन अझै बाँकी नै छ।"

तैपनि नेपालमा बालसाहित्यको स्थितिबाट उनी निराश भने छैनन्।

विदेशी साहित्यसंग तुलना

"पश्चिमाहरुले बालसाहित्यमा धेरै प्रगति गरेका छन्, त्यसमा उनीहरुको सयौं वर्षको अभ्यास छ, त्यसैले उनीहरुको अलिकति बुढो भइसकेको छ," उनी भन्छन्।

"हामी अलिकति तन्नेरी छौं अहिले। संसारको सबभन्दा बढी चर्चामा आएको कुरासंग नेपाली साहित्यलाई दाँजेर नेपाली साहित्यलाई चुत्थो भन्न पनि मिल्दैन।

उनीहरुको शुरुवाती पचास वर्षमा निस्केको साहित्य र हाम्रो अहिलेको साहित्य दाँज्ने हो भने हामी धेरै माथि छौं।

हाम्रो संख्या कम होला, तर गुणस्तरमा हामी केही कम छैनौं।"

त्यसैकारणले होला उनले बालसाहित्यको अनुवाद पनि ठूलो मात्रामा गरेका छन्।

"आफ्नो बारीमा आँप होला तर केरा नहोला। तर फेरि बालबालिकालाई त सबै किसिमको खुराक चाहिन्छ।

आफ्नो बारीमा नभएको कुरा अर्काको बारीबाट ल्याउनुपर्छ नि। त्यसैकारणले बालसाहित्यको अनुवाद आवश्यक छ।"

भविष्यको दिशा

भविष्यमा शिक्षक र अभिभावक सबैले बालसाहित्यको आवश्यकता चिन्नु पर्नेमा उनको जोड छ। त्यसै सिलसिलामा आफ्नो एउटा बालकथा उनी सुनाउँछन।

"शिक्षकले आफ्नो गोजीबाट चकलेट निकाल्छन् र भन्छन्: म चाहिं के बुझ्न चाहन्छु भने तपाईंहरु मध्येमा सबैभन्दा राम्रो मान्छे को हो?

मलाई लाग्छ फलाना मान्छे राम्रो हो। म वहाँको हातमा चकलेट दिन्छु।

तर वहाँले चाहिं वहाँभन्दा राम्रो मान्छे को हो मलाई देखाइदिनु पर्यो। उल्ले उल्लाई उल्ले उल्लाई गरेर त्यो चकलेट हात हातमा सर्दै गयो।

भन्नुको अर्थः त्यो कक्षामा सबै मान्छै राम्रा छन्। समाजमा सबै मान्छे राम्रो हुनसक्छन् भन्ने कुराको परिचय मैले दिएँ।

त्यसैगरी शिक्षकहरुले बालबालिकालाई साहित्यका माध्यमबाट नै धेरैकुरा बसझाउन सक्छन्,र त्यसका लागि उनीहरुले समय निकाल्नै पर्छ।

अभिभावकलाई पनि त्यही सन्देश दिन चान्छन् उनी।

"तपाईं अभिभावक हो भने चाहिं म के भन्न चाहन्छु भने बालसाहित्य र पाठ्यपुस्तकमा फरक छ। बालसाहित्य अलग किताब हो, त्यसको निम्ति तपाईंले अवश्य पनि मेहनत गरिदिनुहोस्।"