चीनद्वारा भारतसँग विवादित क्षेत्रको नामाकरण

  • 20 एप्रिल 2017
दलाई लामा तस्वीर कपीराइट EPA

चीनले भारतसँगको विवादित हिमालय सीमाक्षेत्रका छ जिल्लाको पुन:नामाकरण गरेको छ।

एप्रिलको शुरुवातमा अरुणाञ्चल प्रदेशमा तिब्बती धार्मिक नेता दलाई लामाले भ्रमण गरेको विरोध स्वरुप चीनले उक्त कदम चालेको ठानिएको छ।

चीनले उक्त भ्रमणले दुई देशको सम्बन्धमा 'नकारात्मक असर' पार्ने र बेइजिङको चासोलाई 'नजरअन्दाज' नगर्न चेतावनी दिएको थियो।

प्रतिक्रिया

चीनले गरेको घोषणाको भारतले अहिलेसम्म प्रतिक्रिया दिइसकेको छैन।

तर भारतले दलाई लामाको भ्रमण धार्मिक प्रयोजनका लागि मात्रै भएको बताउँदै आएको छ।

दलाई लामाले अरुणाञ्चलको भ्रमण गरेको यो पहिलो पटक होइन।

यसअघि उनले सन् १९८३, १९९७ र २००९ मा एक,एक पटक र सन् २००३ मा दुई पटक भ्रमण गरेका थिए।

चिनियाँ सरकारी सञ्चारमाध्यमको विवरणमा भनिएको छ, "चीनले दक्षिण तिब्बतका छ वटा स्थानको नामाकरण गरेको छ। ती स्थान चीनको भूभाग हो तर केही क्षेत्र अहिले भारतले नियन्त्रण गरेर राखेको छ"।

चीनले विवादस्पद भूभागको औपचारिक नामाकरण गरेको यो पहिलो पटक हो।