भारत: गाडीमा रातो बत्ती प्रयोग गर्न रोक

  • 20 एप्रिल 2017
लालबत्ती तस्वीर कपीराइट AFP

भारतले मन्त्रीहरु तथा उच्च सरकारी अधिकारीहरुलाई आफ्नो गाडीमा रातो बत्ती प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ।

वित्त मन्त्री अरुण जेट्लीले आगामी मे १ बाट 'कुनै पनि सवारी साधनमा रातो बत्ती नहुने' र यसमा 'कसैलाई छुट नहुने' जनाए।

नयाँ नियम अन्तर्गत आकस्मिक सेवामा प्रयोग हुने एम्बुलेन्स, दमकल र प्रहरीका गाडीहरुले निलो बत्ती प्रयोग गर्न पाउनेछन्।

आलोचना

विशिष्ट व्यक्तिहरुले आफ्नो हैकम देखाउन रातो बत्तीको दुरुपयोग गरेको र त्यसका कारण 'ट्राफिक जाम' भई सर्वसाधारणले सडकमा सास्ती बेहोर्नुपरेको आलोचकहरुले बताएका छन्।

संवाददाताहरुका अनुसार, पछिल्लो कदम भारतमा राजनीतिकर्मी र अधिकारीहरुले सामान्य नागरिकभन्दा आफूलाई माथि ठान्ने 'भीआइपी प्रवृत्ति'माथि एउटा झड्का हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, "प्रत्येक भारतीय विशेष छन्। प्रत्येक भारतीय विशिष्ट हुन्"।

"यो धेरैअघि नै अन्त्य भइसक्नुपर्ने थियो। तर आज एउटा बलियो शुरुवात भएकोमा म खुशी छु"।

कदम

सडक यातायातमन्त्री नीतिन गड्करीले पछिल्लो कदम एउटा ठूलो प्रजातान्त्रिक निर्णय भएको एएफपी समाचार संस्थालाई बताए।

सन् २०१५ मा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो गाडीमा रातो बत्तीको प्रयोग नगर्ने भन्दै यो अभियानमा सबैभन्दा पहिलो कदम चालेका थिए।

सन् २०१३ मा सर्वोच्च अदालतले संवैधानिक पद धारण गर्न व्यक्तिहरु—राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, उच्च न्यायधीशहरु र अरु केही अधिकारीहरुले मात्रै आफ्नो गाडीमा रातो बत्ती राख्न पाउने बताएको थियो।