गोपालनाथ योगीसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गोपालनाथ योगीसंगको कुराकानी

  • 25 एप्रिल 2017

भायलिनमा पूर्वीय शास्त्रीय संगीत बजाउने ८२ वर्षीय वाद्यवादक गोपालनाथ योगीले ऐश्वर्य नामक राग समेत प्रतिपादन गरेका छन्।

१९९२ सालमा पाल्पामा जन्मेका गोपालनाथ योगी बाल्यकालदेखि नै त्यस समयमा दुर्लभ रहेको ग्रामोफोनमा गीतहरु सुनेर हुर्केको बताउँछन्।

नेपालमा रेडियो समेत नभएको अवस्थामा उनले ग्रामोफोनमा एउटा मात्र नेपाली गीत उपलब्ध भएको सम्झन्छन्: "कालो ठेकी कालै काठको, रातो ठेकी दारको।"

पौराणिक पात्र ध्रुवका बारेमा एउटा नेपाली नाटक र हिन्दी गीतहरु सुन्न मन पराउँथे उनी।

तर संगीतमै लाग्नुको पछाडि उनको एउटा कथा रहेछ।

भालुको आक्रमण

बाल्यकालमा, करीब १२ १३ वर्षको हुँदा शिकार खेल्न गएको ठाउँमा पाल्पामा उमेरमा उनलाई भालुले टोकेछ।

"मेरो मुख नै दुबैतिरबाट बन्द गर्नुपरेको थियो। ६-७ महिना अस्पतालमा बसें, मुखै खोल्न मिल्दैन थियो।

तीन महिनासम्म जुसमात्रै खाएर बसें।" उनी त्यो समयको भयानक कहानी सुनाउँछन्।

पाल्पा अस्पतालमा दुइ महिना र लखनउमा ६ महिना औषधी गरेको भएतापनि उनको अनुहारमा अझैसम्म पनि घाउ र खत देखिन्छन्।

त्यस घटनाले आफूमाथि गहिरो प्रभाव परेको उनी बताउँछन्। ""यत्रो घटना भएपछि मलाई कस्तो भयो भने, केही न केही गरेर नाम कमाउने काम गर्छु!

पढ्न पनि मन लागेन र विरक्त भयो मेरो मन। र केटाकेटीदेखि नै गीतहरु गाउने, घरमा हार्मोनियम र तबला बजाउने र स्कुलमा पनि शिक्षकहरुले गाउन बोलाउने हुनाले मैले संगीत सिक्ने निर्णय गरें।"

भायलिनसंग परिचय

सबै कुरा छोडेर संगीतका लागि नाम चलेको ग्वालियर जाने निर्णय गरे उनले।

त्यहाँका पनि सबभन्दा नाम चलेका शास्त्रीय गायकलाई खोजे।

"उनीकहाँ चाहिं हरेक गुरुवार संगीत कार्यक्रम हुने रहेछ। तल्लो तहका विद्यार्थी देखि शुरु गरेर अन्त्यमा विज्ञले गाउने रहेछन्।

शुरु शुरुका विद्यार्थीको गायन त राम्रै लाग्दैथियो, तर पछि अन्तिमका मान्छेले त आवाज मात्रै निकालेर हा हा हो हो गरे, के गाए के गाए, मैले त बुझ्दै बुझिन।"

शास्त्रीय संगीत भन्ने नै थाहा नभएको अवस्थामा त्यो गायनले आफूलाई आकर्षित नगरेपछि उनले ठानेः "यहि यदि गाना हो भने म गाना सिक्दिन।"

त्यहाँबाट पनि विरक्त भएपछि रेडियो सुन्दै गर्दा आफ्नो जीवनको दिशा उनले अनायासै भेटेछन्।

रेडियोमा बजेको बाजालाई आनन्द मानेर सुन्दै गर्दा उनले अन्तिममा थाहा पाएः भायलिनमा राग विन्द्रावनी बजेको रहेछ।

शास्त्रीय गायनभन्दा धेरै राम्रो लागेर त्यही सिक्ने अठोट गर्दै उनी बाजाको पसल पनि पुगिहाले।

दृष्टिविहीन शिक्षक

"पसलमा भायलिन देखाइ मागें। एउटा केसमा राखर ल्यायो। ओहो! पाल्पासम्म लैजान पनि सजिलो रहेछ! भनेर मैले त्यो किनिहालें।"

भारतमा अंग्रेजसंगै प्रवेश गरेको मानिएको त्यो बाजा उनले कहिल्यै देखेका थिएनन् र घरमा ल्याएर आफैं बजाउने कोशिश गर्दा त्यसको टेलपिस नै दुई टुक्रा भएछ!

"चारवटा तारलाई मैले एउटै स्वरमा मिलाउन थालें। बेग्ला बेग्लै स्वरमा हुँदो रहेछ, आफूलाई केही थाहा थिएन!"

एक्लै पार नलागेपछि उनले खोजे भायलिनका शिक्षक।

तर ग्वालियरका सबभन्दा नामी भायलिन शिक्षक त दृष्टिविहीन पो रहेछन्।

"तर उनी बजाएको सुनेर सबैथोक थाहा पाउँदा रहेछन्! यसरी बस भनेर उनले मलाई भन्थे, भायलिन यसरी समाउ भनेर पनि भन्थे।

मेरो हात बांगो भएछ, त्यो पनि उनले थाहा पाएछन्। उनलाई यसो हेरें मैले देख्छन् कि क्या हो भने। तर बजाएको सुनेर नै थाहा पाउने रहेछन्।"

रेडियो नेपालमा प्रवेश

त्यसरी ग्वालियर र पछि खैरागढमा भायलिन सिकेर उनी नवलपरासी फर्के, र एकदिन रेडियो नेपालमा एउटा सन्देश सुनेः नेपाल अधिराज्य भरिका गायन, वादन जानेका मानिसलाई रेडियो नेपालमा रिकर्ड गर्न आह्वान।

परिवारको प्रोत्साहनमा उनी काठमाण्डु आइपुगे, जहाँ रेडियो नेपालमा सबै जना आफ्नो संगीत सुन्न उत्सुक उनले पाए।

बजाउने बेलामा उनले भने, "मसंग भायलिन मात्रै छ, तबला बजाउने पनि मान्छे चाहिन्छ।"

"त्यहाँ नजिकै राखेको एउटा तबला ल्याएर एकजना मान्छेले म बजाउँछु भन्न थाले," उनी भन्छन्," मैले उनलाई चिनिन, म पहिलोपटक काठमाण्डु आएको मान्छे।

मैले माझखमाज भन्ने एउटा अप्रचलित रागको मध्यलय मात्रै सुनाएँ। तबला बजाउनेले पनि मसंग राम्रै बजाए।"

'विद्वत्ता'

छिटो छिटो बजाएको सुनेर निर्देशकले त्यो भाग रेकर्डिङमा हुनैपर्छ भनेको सम्झिए उनले।

तर योगी भने त्यस्तो संगीतलाई उत्कृष्ट मान्दैनन्।

"साधारण मान्छे जसलाई संगीत त्यति थाहा छैन उसलाई मनपर्न सक्छ।

तर त्यो त कसरत मात्रै हो, कला होइन। संगीत जान्ने मानिसलाई त आलाप मनपर्छ।

त्यो विद्वत्ता हो। ज्ञान कसमा कति छ भन्ने कुरा कसले कति धेरै किसिमले आलाप गर्न सक्यो त्यसमा हुन्छ।"

सांगीतिक साथी

रेडियो नेपालमा त्यसरी बजाइसकेपछि मात्रै उनले आफूसंग तबला बजाउने वादकको परिचय थाहा पाए। "नारायण गोपाल भन्ने रहेछन्!" योगी भन्छन्।

"तर त्यतिबेला उनी गायक नै थिएनन्। सितावादक बुवा आशागोपालसंग शास्त्रीय तबला बजाउँथे।

पहिलो परिचय त्यसरी भयो र पछि उनी र उनका बुवासंग मेरो दोस्ती भयो।"

नारायण गोपालका साथै तबलावादक होमनाथ पण्डित, सितारवादक उमा थापा र कथक नर्तक सुरेश मिश्रलाई पनि निकै सम्झन्छन् उनी, जो संग उनी करीब ५० वर्ष अघि अमेरिका पुगेका थिए, नेपाली संगीतको प्रचार गर्दै।

असीमित संगीत

देशविदेशमा नेपाली संगीत चिनाउनु र श्रोतालाई रिझाउनु नै उनका जीवनका स्मरणीय क्षण रहेछन्।

एउटा त्यस्तै क्षण उनी सम्झन्छन्, पाकिस्तानमा गाउँदाको।

राजमतीमा आधारित लोक धुन लिएर जाँदा पाकिस्तानका संगीतकारले पनि त्यस्तै मिल्दोजुल्दो धुन उनीहरुलाई सुनाए।

"संगीतलाई सिमानाले छेक्दैन। उनीहरुको सिन्धी प्रान्तमा रहेछ हेजेमालो भन्ने, स्वर एउटै शब्द मात्रै फरक जस्तो लाग्यो।

हामीले एक पटक बजाउने अनि उनीहरुले त्यसमा जोड्ने गरेर बजाउँदा निकै रमाइलो भयो।!"

राग प्रतिपादन

हुन त योगीले संगीत सुनाउने मात्रै होइन, आविष्कार पनि गरेका छन्।

आफुले प्रतिपादन गरेको रागको पनि कथा रहेछ उनीसंग।

"प्रज्ञा प्रतिष्ठानको रजत जयन्ती वर्ष मनाउने क्रममा आधुनिक संगीतको बोलबाला भइसकेको थियो," उनी सम्झन्छन्।

संगीतलाई एक घण्टा समय दिइँदा मलाई दस मिनेट मात्रै समय दिइयो। म बडो दुःखी भएँ।

अनि मैले ठानें केही न केही नाम हुने काम गर्छु। नयाँ स्वरहरुको खोजीमा लागें र यो स्वर फेला पर्यो।

यसको विलम्बित, द्रुत, तान, आलाप जम्मै ठिक पारें। कुलपति लैनसिंह वाङदेलले सुनेर गजब मिठो रहेछ बीस मिनेट बनाउनुहोस् भने।

त्यसपछि मैले सितार तबला र बाँसुरी थपें, सामान्यता ताल बजाउने मादलमा राग बजाउन सिकाएँ। छ महिना लाग्यो त्यो सब गर्न।"

ऐश्वर्य राग

त्यस्तै गर त्यो राग बजाउने र सुनाउने दिनमा पनि घटनाक्रमले उनलाई साथ दिएको रहेछ।

"राजा वीरेन्द्र आए, र त्यसपछि यस्तो पानी पर्यो कि बाहिर पालमा कोही बस्न नसक्ने भयो।

लौ अरु केही नगर्ने यो राग मात्रै सुन्ने भन्ने कुरा भयो।" त्यो दिनको सम्झना उनमा ताजै रहेछ।

आशावली ठाठको षडज जातिको अर्थात ६ वटा स्वर लाग्ने त्यो राग सुनेपछि रानी ऐश्वर्यले त्यसको बारेमा जिज्ञासा व्यक्त गरेको पनि सम्झन्छन् उनी।

सत्यमोहन जोशीले त्यसको नाम केही राखिएको छैन भनेर नामका लागि सुझाव माग्दा दरबारबाटै 'राग ऐश्वर्य' भन्ने नाम प्रस्तावित भएपछि उनले प्रतिपादन गरेको रागको नाम त्यो रहन गएछ।

निरन्तर साधना

त्यसपछिका वर्षमा नेपालका धेरै आधुनिक भायलिनवादकका गुरु बनेका योगी अझै पनि संगीत बजाउन र सिकाउनमा व्यस्त रहने बताउँछन्।

"म ज्यूँदो छु भनेर संगीतले देखाउँछ," उनी भन्छन्।

"संगीतलाई म छोड्नै सक्दिनँ किनकि शास्त्रीय संगीत कहिल्यै हराउँदैन।

यो त मनोरञ्जन मात्रै होइन स्वर्ग प्राप्त गर्ने पनि तरिका पनि हो र मेरो लागि यो एउटा साधना हो।

अभ्यास गरेपछि स्वर्गीय आनन्द आउने चीज हो, र यसमा लागेपछि मान्छेलाई अर्थोक गर्न मन लाग्दैन।"